पर्सा
आर्थिक चलखेलका आधारमा परीक्षा र ट्रायलविना नै सवारीचालक अनुमतिपत्र ( लाइसेन्स ) वितरण गर्ने यातायात व्यवस्था कार्यालय पर्साका कर्मचारीले भ्रष्टाचार लुकाउन फाइल नै गायब बनाएका छन् । फाइल नष्ट गरे पनि उनीहरूले भ्रष्टाचार भने लुकाउन सकेनन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयका प्रमुखसहित ५ कर्मचारीविरुद्ध प्रमाण लुकाएको अभियोग समेत थपेर आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । कार्यालयका प्रमुख ( उपसचिव ) विश्वराज नेपाल, शाखा अधिकृतहरू कमलराज गौतम, शालिग्राम पौडेल र उमेश रेग्मी तथा नायब सुब्बा अबिन्दर दासविरुद्ध मुद्दा दायर भएको हो ।
मुद्दा दायर भएका तीन अधिकृत र नासुको यसअघि नै अन्यत्र सरुवा भइसकेको थियो । उनीहरूविरुद्ध दुई थरी मुद्दा दायर गरिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले बताए । भ्रष्टाचार गरेको तथा सरकारी कागजपत्र नष्ट गरेकाले छुट्टाछुट्ट्रै सजायँ माग गरी मुद्दा दायर गरिएको हो ।
विगतमा लिखित परीक्षा र ट्रायलविना नै यातायात कार्यालयबाट आर्थिक चलखेलका आधारमा लाइसेन्स वितरण हुन्थ्यो । तर दुवै परीक्षामा कडाइ हुन थालेपछि विदेशी लाइसेन्स नेपालीकरणका नाममा यातायात कर्मचारीले ‘लाइसेन्स बिक्री’ को धन्दा सुरु गरेका हुन् ।
कानुनमा कुनै पनि व्यक्तिले अन्यत्र देशमा लाइसेन्स लिएको छ भने नेपालमा फेरि परीक्षा र ट्रायल दिनुपर्दैैन । विदेशी लाइसेन्सलाई नेपालीकरण गर्ने सुविधा छ । त्यही सुविधाको दुरुपयोग गरी लाइसेन्स बिक्री भएको हो ।
नयाँ पत्रिकाबाट































प्रतिक्रिया