इन्द्रजात्राको अन्तिम दिन आज भक्तपुरमा धार्मिक तथा ऐतिहासिक महत्व बोकेको परम्परागत पुलुकिसी (ऐरावत हात्ती) जात्रा मनाइदैछ । "/>

यसरी मनाइंदै छ आज पुलुकिसी जात्रा

यसरी मनाइंदै छ आज पुलुकिसी जात्रा

केन्द्रबिन्दु
0
Shares

इन्द्रजात्राको अन्तिम दिन आज भक्तपुरमा धार्मिक तथा ऐतिहासिक महत्व बोकेको परम्परागत पुलुकिसी (ऐरावत हात्ती) जात्रा मनाइदैछ ।

स्थानीय लाकुलाछेंटोलबाट शुरु हुने पुलुकिसी जात्रा भक्तपुर नगरको बुलुचा, नासमना, वंशगोपाल इटाछे., दरबारस्क्वायर, त्रिपुरासुन्दरी, चोछें, भोलाछें, नागपोखरी, गछें, सूर्यमढी, तचपाल, गोलमढी, सुकलढोकालगायतका स्थानको परिक्रमा गर्ने प्रचलन छ ।

भक्तपुरको लाकुलाछें टोलका बासिन्दाले बाँसको मान्द्रोले तयार गरेको पुलुकिसीलाई निलो कपडाले छोपेर अगाडिको भागमा हात्तीको जस्तै सुँढ राखी बनाइएको पुलुकिसीलाई स्थानीय टौमढीमा रहेको आकाश भैरवलाई बलिसहितको पूजा सम्पन्न गरिसकेपछि जात्रा शुरु गरिन्छ । पुलुकिसी आउँदा आफू आएको सङ्केत दिन पुलुकिसीको तल घण्टा झुण्ड्याएर आउने गरिन्छ । जात्रामा पुलुकिसीलाई नगर परिक्रमा गराउँदा चारजना मानिसले बोक्ने र एकजनाले पुलुकिसीको तल घण्टा बजाएर आउने गर्छ ।

जात्राको क्रममा पुलुकिसीलाई वंशगोपालमा धान खुवाउने, टौमढी र दरबार स्क्वायरमा आगो तपाउने, सूर्यमढीको तला तुन्छी (इनार)मा पानी खुवाउने प्रचलन छ ।
देवराज इन्द्रका विश्वासिलो सेवक पुलुकिसीलाई ऐरावत हात्तीको रुपमा लिने भएकाले यसलाई ऐरावत हात्ती जात्रा पनि भन्ने गरिन्छ । जात्राको क्रममा पुलुकिसीको सुँढले मानिसलाई छोएमा दशा लाग्छ भन्ने धार्मिक विश्वासअनुसार जात्राको समय पुलुकिसी आउदा सुँढले छुन्छ की भनी मानिस परपर बस्ने गर्दछ ।

पुलुकिसी जात्रासँगै आजै आकाश भैरवको खट जात्रा, या मता (आकासे बत्ती) र तीन दिन मनाइने मूपात्र जात्रासमेत सम्पन गरिन्छ । जात्रामा पुलुकिसीले कथंकदाचित मूपात्रलाई भेट्यो भन्ने कुल्चेर मार्दा पनि हात्ती बन्ने पात्र र उनका सहयोगीलाई कुनै बात नलाग्ने स्थानीय बासिन्दा बताउँछ । त्यही भएर पुलुकिसी जात्राबीच बाटोमा पुगेपछि मात्र मूपात्र जात्रा शुरु गरिन्छ ।

देवीपुराण गन्थ्रअनुसार इन्द्रजात्रासँग सम्बन्धित यस पुलुकिसी जात्रा देवराज इन्द्रका पुत्र जयन्तलाई खोज्न हिँडेको सम्झनामा मनाइने गरेको इतिहास तथा संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिए ।

Skip This
Skip This
Logo