बंजर बगरमा गुरुङ दम्पत्तिको स्याउखेतीले ल्याएको समृद्धि

बंजर बगरमा गुरुङ दम्पत्तिको स्याउखेतीले ल्याएको समृद्धि

केन्द्रबिन्दु
129
Shares

मुस्ताङ (जोमसोम) । कालीगण्डकीको किनारमा अवस्थित वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, तिरी गाउँका आङ्ग्या (ङवाङ) र छिरिङ ढोका गुरुङ दम्पत्ति मेहनत र लगनले असम्भवलाई सम्भव बनाउने प्रेरणादायी उदाहरण बनेका छन्। बंजर बगरमा स्याउखेती गर्ने उनीहरूको साहसिक निर्णयलाई सुरुमा गाउँलेहरूले हाँसोको विषय बनाए पनि, अहिले उनीहरूको सफलताले सबैलाई चकित बनाएको छ।

कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरोला सडक नजिकै भएर पनि तिरी गाउँको विकटता लुकाउन सकिँदैन। पक्की पुलको अभावमा वर्षौंदेखि कठिनाइ झेलिरहेका स्थानीयहरूका बीच गुरुङ दम्पत्तिले स्याउखेती र च्याङ्ग्रा पालनबाट वार्षिक लाखौं आम्दानी गरेर समृद्धिको नयाँ अध्याय लेखेका छन्।

उनीहरूले १८ वर्षअघि सन्तानको शिक्षादीक्षा र घरखर्च चलाउने सपनासहित सुरु गरेको ङवाङ हिसी कृषि तथा पशुपक्षी अग्र्यानिक फर्म एक रोपनी जमिनबाट सुरु भएको थियो। अहिले यो फर्म ६० रोपनीमा फैलिएको छ, जहाँ २,५०० स्याउका बोटहरू लहलहाउँछन्। यस वर्ष उनीहरूले मनाङबाट ५०० हाइडेन्सिटी (उच्च घनत्वमा उत्पादन हुने) स्याउका बोटहरू थप्ने तयारी गरेका छन्।

गुरुङ दम्पत्तिको अथक परिश्रमले उनीहरूलाई मुस्ताङकै नमुना किसान बनाएको छ। यस वर्ष उनीहरूले दुईवटा प्रतिष्ठित पुरस्कार प्राप्त गरेका छन् ।
राष्ट्रपति उत्कृष्ट किसान पुरस्कार: छिरिङ ढोका गुरुङलाई नगद २ लाख, दोसल्ला र सम्मानपत्रसहित सम्मानित गरियो।
गण्डकी प्रदेश सर्वोत्कृष्ट किसान पुरस्कार: दम्पत्तिलाई गण्डकी प्रदेश सरकारले नगद ५० हजार, दोसल्ला र सम्मानपत्र प्रदान गर्यो।

पोखरामा आयोजित समारोहमा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्यमा जिसी श्रेष्ठ र सचिव वासुदेव रेग्मीले उनीहरूलाई सम्मान गरे। यी पुरस्कारले उनीहरूको मेहनत र लगनको कदर गरेको छ।

गत वर्ष उनीहरूले स्याउ बिक्रीबाट खर्च कटाएर ३५ लाख र ५०० च्याङ्ग्राबाट १३ लाख आम्दानी गरे। बिहानदेखि बेलुकासम्म स्याउ बगैंचा व्यवस्थापन र च्याङ्ग्रा हेरचाहमा खट्ने यो दम्पत्तिसँग अहिले आठ जना मजदुर कार्यरत छन्। उनीहरूको यो सफलताले गाउँमा रोजगारी सिर्जना गरेको छ भने अन्य किसानहरूलाई समेत प्रेरणा दिएको छ। छिरिङ भन्छन्, “सुरुमा गाउँलेहरूले बंजर जमिनमा स्याउखेती गरेको देखेर खिसीटिउरी गर्थे। तर, अहिले हाम्रो सफलता देखेर उनीहरू चुप लागेका छन्। मेहनत र धैर्यताले जे पनि सम्भव छ।”

जलवायु परिवर्तनका कारण पानीको मुहान सुक्दै जाँदा तिरी गाउँका १३ घरधुरी विस्थापनको जोखिममा छन्। यस्तो प्रतिकूल परिस्थितिमा पनि गुरुङ दम्पत्तिको स्याउखेती र पशुपालनले गाउँको आर्थिक आधार बलियो बनाएको छ। उनीहरूको बगैंचामा रैथाने र आधुनिक प्रजातिका स्याउहरू फल्छन्, जसले बजारमा उच्च माग राख्छ।

आङ्ग्या र छिरिङको कथा मेहनत, लगन र दृढताको प्रतीक हो। बिहानदेखि बेलुकासम्म खेतबारीमा खट्दा उनीहरूलाई आनन्दको अनुभूति हुन्छ। “यो मेहनतले हामीलाई आर्थिक समृद्धि मात्र होइन, आत्मसन्तुष्टि पनि दिएको छ,” आङ्ग्या भन्छन्।

उनीहरूको सफलताले मुस्ताङका अन्य किसानहरूलाई समेत व्यावसायिक खेतीतर्फ आकर्षित गरेको छ। गुरुङ दम्पत्तिको यो कथा बंजर जमिनलाई समृद्धिको बगैंचामा बदल्ने साहस र समर्पणको जीवन्त उदाहरण हो।

Logo