सोमप्रसाद मिश्रद्वारा लिखित ‘शक्तिराष्ट्रका राजनीतिक दलहरू तुलनात्मक अध्ययन’ पुस्तक विमोचन

सोमप्रसाद मिश्रद्वारा लिखित ‘शक्तिराष्ट्रका राजनीतिक दलहरू तुलनात्मक अध्ययन’ पुस्तक विमोचन

केन्द्रबिन्दु
60
Shares

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य सोमप्रसाद मिश्रद्वारा लिखित ‘शक्तिराष्ट्रका राजनीतिक दलहरू तुलनात्मक अध्ययन’ पुस्तक विमोचन भएको छ ।

एक विशेष समारोहकाबिच सभामुख देवराज घिमिरेले उक्त पुस्तक विमोचन गरेका हुन् । पुस्तकमा संयुक्त राज्य अमेरिका, चीन, रुस, भारत, फ्रान्स, बेलायत लगायतका प्रमुख शक्तिराष्ट्रका राजनीतिक दलहरूको ऐतिहासिक विकासक्रम, संगठनात्मक संरचना, नीति निर्माण प्रक्रिया र अन्तर्राष्ट्रिय मञ्चमा उनीहरूको भूमिकाको विस्तृत विश्लेषण प्रस्तुत गरिएको छ ।

कार्यक्रममा सभामुख घिमिरेले जनताको चाहना र आवश्यकताको आधारमा राजनीतिक दलहरूले नीति र नेतृत्व निर्माण गर्दै प्रभावकारी ढंगले अगाडि बढ्नुपर्ने बताए । जनताको विश्वास जित्ने आधार निर्माणका लागि राजनीतिक दलहरू उत्तिकै सक्रिय हुनुपर्नेमा उनको जोड थियो ।

पुस्तकको सुरुमा लेखक मिश्रले फ्रान्सबारे उल्लेख गरेका छन् । त्यहाँ लेखकले राज्यको उत्पत्तिबारे प्रस्ट पारेका छन् । ‘एसियाका भारत चीन तथा इराक र इरानजस्तै स्वतन्त्र प्राचीन इतिहास र सभ्यताको गौरव फ्रान्सले बोक्न सकेन’ लेखकले मानव बसोबासको प्राचीनकालमा उल्लेख गरेका छन् ।

लेनिनको नेतृत्वमा रहेको रुसले सन् १९२१ बाट युद्ध कम्युनिजमको सिद्धान्तलाई देशको पुनर्निर्माणका लागि नयाँ आर्थिक नीति अङ्गीकार गरेकोदेखि लिएर लेखक मिश्रले अमेरिकाको उत्पत्ति र मध्यकालीन विकास क्रम, बेलायतको विगत र अहिलेको अवस्था, चिनियाँ सभ्यताको इतिहासलगायतबारे प्रष्ट पारेका छन् । पुस्तकमा भारतको मोदी युगबारे पनि चर्चा गरेका छन् ।

पुस्तकमा विश्वका प्रमुख शक्तिराष्ट्रहरूका राजनीतिक दलहरूको संरचना, विचारधारा, कार्यप्रणाली र उनीहरूको अन्तर्राष्ट्रिय सम्बन्धमा पार्ने प्रभावबारे तुलनात्मक अध्ययन प्रस्तुत गरिएको छ, जुन महत्वपूर्ण छ ।

मिश्र लामो समयदेखि अन्तर्राष्ट्रिय राजनीतिमा समेत चासो राख्दै अध्ययन गर्दै आएका अध्येता हुन् ।

कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, नेकपा एमालेका सचिव योगेश भट्टराई, नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटी, सङ्घीय सांसद दुर्लभ थापा, बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा लगायतको उपस्थिति थियो ।

Logo