काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी ‘साम्बा’ न्युजिल्याण्डकाे क्लब वेलिंग्टन फिनिक्समा अनुबन्धित भएकी छन् । फिनिक्सले आगामी निन्जा ए-लिग २०२५-२६ सिजनका लागि उनलालाई अनुबन्ध गरेको जानकारी दिएकाे हाे ।
२९ वर्षीया ‘साम्बा’को नामले परिचित भण्डारीले फिनिक्ससँग २०२६-२७ सिजनको अन्त्यसम्मका लागि सम्झौता गरेकी छिन्।
सावित्राले ६० अन्तर्राष्ट्रिय खेलमा ६६ गोल गर्दै नेपालका लागि सर्वाधिक गाेलकर्ताकाे कीर्तिमान राखेकी छिन्। हालै सम्पन्न एएफसी महिला एसियन कप छनोट प्रतियोगितामा उनले लगातार तीन खेलमा ह्याट्रिक गरेकी थिइन्, जसले उनको गोल गर्ने क्षमतालाई थप प्रमाणित गर्छ।
अन्तर्राष्ट्रिय मञ्चमा मात्र नभई क्लब स्तरमा पनि भण्डारीले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएकी छिन्। भारतीय महिला सुपर लिगमा २४ खेलमा ६० गोल गरेपछि उनले फ्रान्सको गुइन्गाम्पमा पनि आफ्नो उत्कृष्ट गोल गर्ने दर कायम राखेकी थिइन्।
फिनिक्सका मुख्य प्रशिक्षक एमी शेफर्डले भण्डारीलाई स्वागत गर्दै भनिन्, “हामी साबित्रालाई फिनिक्स परिवारमा स्वागत गर्न पाउँदा गर्व गर्छौं र मैदानभित्र र बाहिर उनको प्रभाव हेर्न उत्सुक छौं।”
आफ्नो नयाँ सम्झौतामा हस्ताक्षर गरेपछि नेपाली कप्तान भण्डारी वेलिंग्टनमा उत्कृष्ट प्रदर्शन गर्न उत्सुक देखिएकी छिन्। उनले भनिन्, “म फिनिक्स आउन, धेरै गोल गर्न र प्रशंसकहरूलाई खुसी पार्न साँच्चै उत्साहित छु।”





























प्रतिक्रिया