काठमाडाैं । बंगलादेशको राजधानी ढाकामा सोमबार वायुसेनाको एक तालिम जेट माइलस्टोन स्कूलमा खस्दा कम्तीमा २० जनाको मृत्यु भएको छ भने १७० भन्दा बढी घाइते भएका छन्। यो दुर्घटना स्थानीय समयअनुसार सोमबार दिउँसो १ बजेपछि उत्तरा उपनगरमा भएको थियो।
प्रत्यक्षदर्शीका अनुसार एफ-७ जेटले तालिम उडानका लागि उडान भरेको केही बेरमै यान्त्रिक गडबडीको सामना गर्यो। सशस्त्र बलले एक विज्ञप्ति जारी गर्दै विमानका पाइलट, फ्लाइट लेफ्टिनेन्ट एमडी तौकिर इस्लाम,ले कम जनघनत्व भएको क्षेत्रमा विमानलाई लैजाने प्रयास गरेको तर सफल नभएको बताएको छ। पाइलटको पनि सोही दुर्घटनामा मृत्यु भएको छ।
दुर्घटनापछि माइलस्टोन स्कूल-कलेजको दुई तले भवनमा ठूलो आगो र बाक्लो धुवाँ देखिएको थियो। धेरैजसो पीडित विद्यार्थीहरू थिए जो भर्खरै विद्यालयबाट छुटेका थिए। स्वास्थ्य मन्त्रालयका अनुसार मृतकहरूमध्ये १७ जना बालबालिका थिए। घाइते भएका ५० भन्दा बढीलाई अस्पतालमा भर्ना गरिएको छ, जसमध्ये धेरैको अवस्था गम्भीर रहेको राष्ट्रिय जलन तथा प्लास्टिक सर्जरी संस्थानका एक चिकित्सकले बताएका छन्। अधिकांश घाइते १० देखि १५ वर्ष उमेरका बालबालिका रहेका छन् र उनीहरू जेट इन्धनबाट जलेका छन् ।
बंगलादेशले मंगलबार राष्ट्रिय शोक दिवस घोषणा गरेको छ, जसमा देशभर राष्ट्रिय झण्डा आधा झुकाइनेछ । एक अनुसन्धान समिति गठन पनि गरिएको छ जसले यस घटनाको अनुसन्धान गर्नेछ।































प्रतिक्रिया