काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले सडक पूर्वाधारको विकास सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्।
बुधबार पहिलाे संस्करणकाे ‘नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५’ को उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले सडक पूर्वाधारबिना यस्ता प्रदर्शनीहरूको पूर्ण अर्थ नहुने भन्दै सडकको स्तरोन्नति र विस्तारमा सरकारले तीव्रता दिएको बताएका हुन् ।
उनले काठमाडौंका सडकहरूलाई धुलो र हिलोमुक्त बनाउने सरकारको योजनालाई सार्थक बनाउन प्रयास भइरहेको पनि बताए। साथै, सडक निर्माणमा रडको प्रयोगको आवश्यकता महसुस गरी त्यसलाई कार्यान्वयनमा ल्याउने अवधारणा अगाडि सारिएको उनको भनाइ थियो।
अर्थमन्त्री पौडेलले भृकुटीमण्डपमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी हल निर्माण गर्ने घोषणा गरे । उनले यसका लागि बजेटमा रकम विनियोजन भइसकेको र २ देखि ३ वर्षभित्र आधुनिक र व्यवस्थित प्रदर्शनी हल तयार हुने जानकारी दिए। यसका लागि भृकुटीमण्डपमा रहेका हालका संरचनाहरू हटाएर टुकुचासम्मको क्षेत्रलाई समेटेर नयाँ हल निर्माण गरिने उनले स्पष्ट पारे।
यसैगरी अर्थमन्त्री पौडेलले सरकारले निजी क्षेत्रको मनोबल बढाउन र लगानीमैत्री वातावरण सिर्जना गर्न बजेट निर्माण गरेको बताए। उनले अटो सेक्टरबाट प्राप्त हुने राजस्व मात्र सरकारको उद्देश्य नभएर रोजगारी सिर्जना र लगानी बढाउनु पनि महत्त्वपूर्ण भएको बताए।
उनले आर्थिक नीतिहरूमा आवश्यक सुधार गर्ने तर अनावश्यक रूपमा नीति परिवर्तन नगर्ने सरकारको सोच रहेको जानकारी दिए। यस सरकार गठन भएयता अर्थतन्त्रका हरेक क्षेत्रमा सुधार देखिएको र आगामी दिनमा अझ सुधार हुने विश्वास व्यक्त गर्दै उनले यसमा सबैको साथको अपेक्षा राखे।





























प्रतिक्रिया