दाङ
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मालाई दाङ हिरासतमा राखिएको छ । भोजपुर अदालतले रिहा गरेपछि उनलाई शुक्रवार दाङ ल्याइएको हो ।
दाङको तुलसीपुरमा गत निर्वाचनको बेलामा म्यादी प्रहरी हत्याको अभियोगमा मुद्दा चलाउन उनलाई दाङ ल्याएको प्रहरी स्रोतले जनाएको छ । शुक्रवार साँझ साँढे ५ बजे जिल्ला प्रहरी कार्यालय दाङ ल्याइएको र शनिवार अदालत विदा भएकाले आइतवार मात्रै अदालतमा पेश गरिने दाङका प्रहरी प्रमुख कृष्णहरि शर्माले जानकारी दिए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाइ लक्षित गरी तुलसीपुरमा फालिएको बम बिष्फोटन हुँदा गत बर्ष एक जना म्यादीको ज्यान गएको सो पार्टीकै दस्ताबेजमा भेटिएपछि यसमा अनुसन्धान थालिएको प्रहरीको दाबी छ । बम बिस्फोटमा परी म्यादी प्रहरी २३ वर्षीय विनोद चौधरी (तुलसीपुर–१२, उरहरी) को मृत्यु भएको थियो ।
बिप्लव नेतृत्वको नेकपाले ६–८ साउनमा अर्घाखाँचीमा भूमिगत रुपमा सम्पन्न गरेको केन्द्रीय समिति बैठकको माइन्यूट फेला परेपछि सुरक्षा क्षेत्र तरंगित बनेको छ । दस्तावेजमा सशस्त्र संघर्षको तयारी गरिरहेको सूचना पाएपछि थप सतर्कता अपनाउन थालिएको प्रहरीको दाबी छ ।
यसैबीच प्रवक्ता प्रकाण्डले आफू माथि घोर अन्याय भएको बताएका छन् । मानव अधिकार सञ्जाल दाङले गरेको भेटघाटमा उनले राज्यले राजनीतिक विषयलाई अपराधिकरण गरेर आफुलाई अनावश्यक दुःख दिएको बताए । राजनीतिक मुद्दालाई अपराधीकरण गरेर देशमा शान्ति स्थापना नहुने पनि उनले बताए ।
त्यस्तै मानव अधिकार सञ्जालले सबैखालका समस्याहरुको समाधान वार्ताबाट नै हुने अपरिहार्य सत्यलाई दृष्टिगत गर्दै समस्याको समाधान वार्ताबाट गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।
यसैवीच नेपाल कम्युनिष्ट पार्टी दाङले पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको तत्काल रिहाइको माग गरेको छ । सरकारले राजनीतिक पूर्वाग्रह राखेर प्रकाण्डलाई झुटठा मुद्दा लगाएर हिरासतमा राख्ने काम गरेको भन्दै स–सम्मान रिहाइको माग गरेको हो ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया