पोखरा
राष्ट्रिय खेलकुद परिषदले इन्डोनेसियामा सम्पन्न १८ औं एसियाली खेलकुदमा नेपाललाई एक मात्र पदक रजत पदक दिलाउन सफल पाराग्लाइडिङ टोलीलाई नगद सहित सम्मान गरेको छ ।
विजेता खेलाडीले नगद ५ लाख रुपैयाँ, प्रशिक्षकले ३ लाख, सहायक प्रशिक्षकले १ लाख ५० हजार र प्याराग्लाडिङ संघले नगद ६ लाख रुपैयाँ प्राप्त गरे ।
एसियाली खेलकुदमा नेपालले पाराग्लाइडिङलाई पहिलो पटक सहभागिता गराएको हो । पहिलो सहभागितामै पाराग्लाइडिङ टोलीले क्रसकन्ट्रीमा रजत पदक जित्न सफल भएको हो । एसियाली खेलकुदमा नेपालले टिम इभेन्ट्समा पदक जितेको यो पहिलो हो । प्याराग्लाडिङ टोलीमा विमल अधिकारी (कप्तान) , विशाल थापा, सुशील गुरुङ, विजय गौतम तथा युकेश गुरुङ रहेका छन् ।
यता इण्डोनेशियामा सम्पन्न १८ औं एशियाली खेलकूद प्रतियोगितामा मुलुकलाई प्याराग्लाइडिङ खेल मार्फत रजत पदक दिलाउने खेलाडीलाई मंगलबार पोखरामा भव्य स्वागत गरिएको छ ।
गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन, राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार बिष्ट र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले खेलाडीलाई पोखरा विमानस्थलमा स्वागत गरेका थिए ।
प्याराग्लाइडिङ पुरुष टिम क्रस कन्ट्री इभेन्टमा सहभागी विजयी खेलाडी बिमल अधिकारी, विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ र विशाल थापालाई उनीहरुले फूलगुच्छाले स्वागत गरेका हुन् ।
त्यसपछि खेलाडी टिमलाई गाडीमा राखेर पोखरा विमानस्थल देखि बाजा–गाजासहित नगरका मुस्ताङचोक, विरौटा, ड्यामसाइड, राष्ट्रबैंक चोक, सिर्जनाचोक, नयाँ सडक, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक लगायत विभिन्न स्थान हुँदै पोखरा रङ्गशालामा सम्मानका लागि लगिएको थियो ।
नगर परिक्रमाका क्रममा खेलाडी, स्थानीय, जनप्रतिनिधि, समाजसेवीको सहभागिता थियो भने कतिपय नगरवासीले आ–आफ्ना घर अगाडि स्वागतका लागि घडा राखेका थिए ।
रासस































प्रतिक्रिया