एनसेल फाउन्डेसन र आइकम नेपालबीच सहकार्य, सांस्कृतिक संरक्षणका लागि ऐन निर्माणमा ढिलाइ भएको स्वीकार्य

एनसेल फाउन्डेसन र आइकम नेपालबीच सहकार्य, सांस्कृतिक संरक्षणका लागि ऐन निर्माणमा ढिलाइ भएको स्वीकार्य

केन्द्रबिन्दु
54
Shares

काठमाडौं । एनसेल फाउन्डेसनको सहयोगमा अन्तर्राष्ट्रिय संग्रहालय परिषद् (आइकम) नेपाल शाखाले नारायणहिटी दरबार संग्रहालयसँगको साझेदारीमा सञ्चालन गरेको एक वर्षे परियोजना “संग्रहालयमार्फत संस्कृति र सम्पदाको प्रवद्र्धन” सफलतापूर्वक सम्पन्न भएको छ ।

परियोजनाले संग्रहालयको महत्वबारे जनचेतना फैलाउने, संग्रहालयकर्मीलाई तालिम दिने तथा संग्रहालय सम्बन्धी स्रोत सामग्री निर्माण र प्रसार गर्ने कार्यहरूलाई प्राथमिकता दिएको थियो । यसका अन्तर्गत संग्रहालयको आधारभूत मान्यता र अन्तर्राष्ट्रिय अभ्यासलाई समेटेर तयार गरिएको जानकारीमूलक पुस्तिका देशभरका संग्रहालय र सम्पदासँग सम्बन्धित संस्थाहरूलाई वितरण गरिएको छ ।

कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले परियोजनाको उपलक्ष्यमा तयार गरिएको अनुसन्धानमूलक जर्नल “संग्रहालय” को पहिलो अंक विमोचन गरेका थिए ।

मन्त्री पाण्डेले संग्रहालयका विभिन्न आयाम र संग्रहालयमा रहेका सामग्रीहरूले नेपालीहरूको गर्व बढाएको भन्दै जर्नल प्रकाशनमा एनसेल फाउन्डेसनको महत्वपूर्ण योगदानप्रति प्रशंसा व्यक्त गरे । उनले हाल संग्रहालय दर्ता, मापदण्ड र व्यवस्थापनका लागि सरकार नीति निर्माणमा क्रियाशील रहेको जानकारी दिए ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सह–सचिव सुरेश सुरज श्रेष्ठले , मन्त्रालयले संस्कृति क्षेत्रमा विशेष माया राख्ने र नीति निर्माण तथा कार्यान्वयनमा एनालिटिकल दृष्टिकोण राख्ने प्रयास गरिरहेको जनाए ।

एनसेल फाउन्डेसनकी कर्पाेरेट कम्युनिकेशन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले कला र संस्कृतिको संरक्षण सबैको कर्तव्य भएको र एनसेल फाउन्डेसनले यसलाई प्राथमिकता दिएको बताइन् ।

युनेस्कोका प्रतिनिधि जाको दु तोइले संग्रहालयहरूको सांस्कृतिक प्रवद्र्धन, सामुदायिक छलफल र शिक्षामा भूमिका जोड्दै संग्रहालय संस्कृतिको विकास आवश्यक रहेको धारणा व्यक्त गरेका छन् ।

आइकम नेपालका अध्यक्ष रमेश प्रसाद दवाडीले नेपालमा संग्रहालयको दायरा विस्तार गर्दै संस्कृति संरक्षणमा निरन्तर काम गरिरहेको जानकारी दिए । उनले भने, ‘परियोजनाबाट बागमती, लुम्बिनी र गण्डकी प्रदेशका एक सयभन्दा बढी संग्रहालयकर्मीलाई तालिम प्रदान गरिएको छ । उक्त तालिमले संग्रहालय सञ्चालनका अन्तर्राष्ट्रिय मापदण्ड, नेपालको आवश्यकताहरू र संग्रहालयले गर्न सक्ने विषयमा छलफल गराएको थियो ।’

परियोजनाले नेपालको पहिलो संग्रहालय स्थापना कालदेखि वर्तमानसम्मको यात्रा समेट्ने श्रव्य–दृश्य वृत्तचित्र पनि निर्माण गरेको छ । यो पहल नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, स्थानीय र प्रदेश सरकारहरूसँगको समन्वयमा सफलतापूर्वक सम्पन्न भएको छ ।

सरकार, निजी क्षेत्र र स्थानीय समुदायबीचको सहकार्यमा सम्पन्न परियोजनाले नेपालमा संग्रहालय र सम्पदाको संरक्षण तथा प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको र यस किसिमका प्रभावकारी कार्यक्रमहरू निरन्तरता दिनुपर्ने सरोकारवालाहरूले जोड दिएका छन् । कार्यक्रममा युनेस्को काठमाडौं कार्यालयका प्रमुख, एनसेलका प्रतिनिधि, संग्रहालयकर्मी, विज्ञ र सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Skip This
Skip This
Logo