काठमाडौँ
नेपालले १८ औँ एसियाडका लागि समग्रमा एक खेलाडी बराबर ३ लाख ३९ हजार रुपैयाँ लगानी गरेको छ । तर उपलब्धी भने लगानी अनुसार आएन । एसियाडमा बढी खेल र खेलाडी सहभागी गराएका कारण कुनै पनि खेललाई विशेष महत्व नदिँदा औसत खेलाडीमा गरिएको लगानी खेर गएको छ ।
अघिल्लो संस्करण (इन्चोन एसियाड, २०१४ ) मा भन्दा ९ खेल बढायो । सहभागी खेल २९ पुर्याए पनि उपलब्धि निकै फितलो रह्यो । एसियाडमै पहिलोपटक सहभागी गराइएको प्याराग्लाइडिङले आफ्नै प्रयासमा नेपालको इज्जत राख्यो । राज्यबाट बढी लगानी भएका तेक्वान्दो, कराँते, बक्सिङ लगायतका खेलबाट उपलब्धि शून्य रह्यो ।
नेपालले हरेकपटकको एसियाडलाई तामझामपूर्ण बनाउँछ । तर अन्तर्राष्ट्रिय मञ्चमा प्रदर्शन कमजोर बन्दै गएको छ । खेलको स्तर सुधार्न सम्बन्धित निकाय अग्रसर भएको देखिँदैन ।
जकार्ताको गर्मी सहन नसकेको भन्दै नेपालका धावक गोपीचन्द्र पार्की र कृष्णबहादुर महराले म्याराथन पूरा गरेनन् । ९ भदौमा मुख्य रंगशाला गेलोरा बुङकार्नोमा भएको प्रतिस्पर्धामा एथलेटिक्सले सुरुवातमा नै दौड पूरा नगर्दै नेपाललाई निराश बनायो । यस्तै नेपाली टेक्निकल टोलीको गम्भीर लापरबाहीका कारण एथलेटिक्स खेलाडी विश्वरूपा बुढाले १० हजार मिटर दौडबाट वञ्चित हुनुपर्यो । ९ भदौका लागि तय भएको प्रतिस्पर्धाको अन्तिम तयारी गरी दौडन ट्र्याकतर्फ लागेपछि मात्र विश्वरूपाले आफूले दौडन नपाउने जानकारी पाइन् । उनलाई आयोजकले ‘लेट इन्ट्री’का कारण देखाउँदै ट्र्याक प्रवेशमा नै रोक लगाएको थियो ।
यसै वीच सदस्य–सचिव केशवकुमार विष्टले नेपाली खेलाडीको प्रदर्शनको जिम्मेवारी आफूले लिने बताएका छन् । ८ भदौमा जकार्तामै पत्रकार सम्मेलन गरेर भनेका थिए, ‘अहिले सम्म जकार्तामा जे–जस्तो प्रदर्शन भइरहेको छ, त्यसको जिम्मेवारी एक सदस्य–सचिव र टोली नेताका रूपमा म लिन्छु ।’
नयाँ पत्रिकाबाट































प्रतिक्रिया