सल्यान

अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा एकै घरका तीन बालबालिका पुरिएका छन् । "/>

पहिरोले घर पुरिँदा तीन बालबालिका बेपत्ता

पहिरोले घर पुरिँदा तीन बालबालिका बेपत्ता

केन्द्रबिन्दु
0
Shares

सल्यान

अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा एकै घरका तीन बालबालिका पुरिएका छन् । बागचौर नगरपालिका–१२ ओख्रेनी मुलखोलामा स्थानीय बालाराम डाँगीको घर आइतबार बेलुकी पहिरोले पुरिएपछि उनका दुई छोरी एक छोरा पुरिएर बेपत्ता भएका हुन् ।

पहिरोमा परी बेपत्ता हुनेमा बालाराम डाँगीकी १० वर्षीया छोरी ललिता डाँगी, सात वर्षीय छोरा ललित डाँगी र चार वर्षीया छोरी मेनका डाँगी रहेको प्रहरीले जनाएको छ । बाबुआमा भैँसी दुहुन गएको र बालबालिका भान्साकोठामा खाना खाँदै गर्दा पहिरोले घर पुरेको वडाध्यक्ष दीपक वलीले जानकारी दिए ।

घटनास्थल सदरमुकाम देखि ५० किमी टाढा रहेको र अविरल वर्षाका कारण पहिरो खस्नेक्रम जारी रहेकाले उद्धार गर्न कठिनाइ भएको वडाध्यक्ष वलीले बताए । “पहिरो खस्नेक्रम अहिले पनि रोकिएको छैन”, उनले भने । पहिरोमा परी घाइते भएर बेहोस भएका बाबुआमा दुवैलाई उपचारका लागि जिल्ला अस्पताल सल्यानमा पठाइएको छ ।

घटनास्थलमा सञ्चार सुविधा नभएकाले थप विवरण बुझ्न नसकिएको जानकारी बागचौर नगरपालिकाका प्रमुख लोकमान बुढाथोकीले दिए । “घटना भएको सुन्ने बित्तिकै उद्धारका लागि म हिँडेको छु, विपद्को यस घडीमा उद्धार कार्यमा सहयोग गर्न सबैलाई अनुरोध गर्दछु”, प्रमुख बुढाथोकीले भने ।

घटना लगत्तै उद्धारका लागि सिमखोली प्रहरी चौकी र इलाका प्रहरी कार्यालय थारमारेबाट टोली हिँडेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । वर्षा नरोकिएको र पाँच घण्टा पैदल हिँड्नु पर्ने भएकाले समस्या भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए ।
रासस

Logo