म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीमा गाउँपालिकामै पहिलो पटक केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएको छ । "/>

जहाँ पहिलो पटक बिजुली पुग्यो

जहाँ पहिलो पटक बिजुली पुग्यो

केन्द्रबिन्दु
0
Shares

म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीमा गाउँपालिकामै पहिलो पटक केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएको छ । 

गाउँपालिका, नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्र, सामुदायिक वन उपभोक्ता समिति र उपभोक्ताको पहलमा गरिएको विद्युतीकरण योजनाबाट २०० घरधुरी लाभान्वित भएका उपभोक्ता समितिका सचिव किरन थापाले जानकारी दिए  । गाउँपालिकाले गत आर्थिक वर्ष २०७४/७५ मा रु २८ लाख उपलब्ध गराएको विद्युतीकरण योजनाका लागि विद्युत् प्राधिकरणले ट्रान्सफर्मर उपलब्ध गराएको थियो । उपभोक्ता समितिको रु ९५ हजार लगानी भएको छ । 

२०० घरधुरी उपभोक्ताले पोल, तार ढुवानी र पोल गाड्ने खाडल खन्नका लागि तीन दिनका दरले रु तीन लाख ५० हजार बराबरको श्रमदान गरेका उपभोक्ता समितिका अध्यक्ष रिमप्रकाश थापाले बताए  उपभोक्ताको घरमा विद्युत्को मिटर जडान गर्न स्थानीय धारापानी सामुदायिक वन उपभोक्ता समूहले अनुदान उपलब्ध गराएको छ । प्रतिघर रु एक हजार सात सयका दरले अनुदान दिइएको समूहका अध्यक्ष रेशमबहादुर थापाले बताए । 

केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा पुगेपछि धारापानीवासी खुशी र उत्साहित भएका छन् । यसअघि उज्यालोका लागि उनीहरु सोलार र टुकीमा निर्भर थिए । उज्यालोका साथै टेलिभिजन हेर्न, मोबाइल चार्ज गर्न, कम्प्युटर, ल्यापटप चलाउन सहज भएको छ । 

धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्षमा वडा नं ७ मा पर्ने अन्य बस्तीमा पनि विद्युत् सुविधा विस्तार गर्ने योजनालाई प्राथमिकता दिएको छ । केन्द्रीय विद्युत् विस्तारका लागि रु ८० लाख बजेट विनियोजन भएको वडाध्यक्ष कलानिधि सुवेदीले बताए ।

Logo