काठमाडौं
संघीय समाजवादी फोरमका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादव उपस्थित कार्यक्रममा कालो झन्डा देखाउँदै होहल्ला गरेको अभियोगमा पक्राउ परी ७ भदौ देखि प्रहरी हिरासतमा राखिएका युवा राममनोहर यादवको मृत्यु भएको छ ।
बिहीबार बर्दिया जिल्ला प्रहरी कार्यालयको हिरासतमै बेहोस भेटिएपछि उपचारका लागि निकालिएका राममनोहरको शनिबार बिहान शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको हो । २ दिनसम्म नेपालगन्जमा उपचार गर्दा स्वास्थ्यमा सुधार नभएपछि काठमाडौं ल्याइएका उनको उपचारकै क्रममा ज्यान गयो ।
बिहीबार बिहान ६ बजे हिरासतबाट जिल्ला अस्पताल पुर्याइएका उनलाई प्राथमिक उपचारपछि प्रहरीले दिउँसो नेपालगन्जस्थित भेरी अञ्चल अस्पताल लगेको थियो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले २४ घन्टा आइसियूमा राखेर उपचार गर्न निर्देशन दिए पनि अस्पतालमा आइसियू बेड खाली नभएपछि तत्काल नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल रेफर भयो । तर शुक्रबार दिउँसोसम्म राममनोहरको स्वास्थ्यमा सुधार नआएपछि काठमाडौंको महाराजगन्जस्थित शिक्षण अस्पताल रेफर भयो ।
दिउँसै एकजना मेडिकल अफिसर, दुई प्रहरी र उनकी श्रीमती सहितको टोलीको साथ लगाएर राममनोहरलाई बर्दिया प्रहरीले जहाजमा काठमाडौं पठायो । थप उपचारका लागि नेपालगन्जबाट जहाजमा काठमाडौं पठाएको बर्दिया प्रहरी प्रवक्ता डिएसपी दलबहादुर बोगटीले बताए । तर उपचारकै क्रममा शिक्षण अस्पताल महाराजगन्जमा शनिबार बिहान करिब साढे २ बजे उनको मृत्यु भयो । ‘प्रहरीका तर्फबाट हरसम्भव प्रयास गरिएको हो, तर दुभाग्य बचाउन सकिएन,’ डिएसपी बोगटीले भने ।
नेपालगन्जस्थित महेन्द्रपार्कबाट राममनोहर सहित ८ जनालाई ६ चैत ०७२ मा प्रहरीले गिरफ्तार गरी राज्यविप्लवको मुद्दा चलाएको थियो । उक्त मुद्दा माथि सुनुवाइ गर्दै विशेष अदालतले ३ फागुन ०७४ मा उनलाई सफाइ दिएको थियो । स्वतन्त्र मधेस गठबन्धनले नेपालगन्जमा आयोजना गरेको ‘रंगभेदी दिवस’ नाम दिइएको कार्यक्रममा सहभागी उनी १० मंसिर ०७३ मा पनि पक्राउ परेका थिए । उनी १२ मंसिर ०७३ मा छुटेका थिए ।
यसैगरि स्थानीय तहको निर्वाचन अघि ‘नो भोट’को प्रचार–प्रसार गरेको आरोपमा २ असार ०७४ मा पक्राउ परेका राममनोहर उच्च अदालत तुलसीपुर इजलास नेपालगन्जको आदेशपछि १९ असार ०७५ मा हिरासतमुक्त भएका थिए ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया