मानिसले लगातार कति घण्टा बोल्न सक्लान् ? धेरैको जवाफ हुन् सक्छ एक घण्टा, २ घण्टा, वा ५ घण्टा । तर एक नेपालीले लगातार ९० घण्टा २ मिनेट लगातार भाषण गरेका छन् । झट्ट सुन्दा अपत्यारिला लाग्ने यो कुरा नपत्याई सुखै छैन । उनले लगातार रुपमा लामो समय बोलेका मात्रै छैन भारतीय नागरिकले राखेको वर्ल्ड रेकर्ड समेत तोड्न सफल भएका छन् । भारत केरेलाका केपी भाल साराजानले ८१ घण्टा १६ मिनेट बोलेर राखेको बिश्व रेकर्ड तोडेर आफ्नो नाम लेखाउन सफल नेपाली हुन् अनन्तराम केसी ।
नुवाकोट शिवपुरी गाउँपालिका–१ का केसीले एक सय घण्टा निरन्तर बोल्ने लक्ष्यका साथ् भदौ ११ गते बिहान ६ बजेदेखि निरन्तर वक्तव्य दिन थालेका थिए । केसीले बिहिबार मध्यरात सम्म बोलेर रेकर्ड राख्न सफल भएका हुन् । न्यू माइन्ड्स एकेडेमीको आयोजनामा केसीले गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीस्थित इष्टपोल स्कूलमा वक्तव्य दिएका हुन् । राष्ट्रिय गौरवसँग जोडिएको यो अभियानलाई पूरा गर्न केसीले उभिएर तथा बसेर वक्तव्य दिएको न्यू माइन्ड्स एकेडेमीका अध्यक्ष कुमारराज सुवेदीले जानकारी दिए ।
विश्व कीर्तिमान राखेका केसीलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डका प्रतिनिधि सोप्नील डाङ्गारीकार, प्रदेश सांसद जीवन डङ्गोलले संयुक्तरूपमा प्रमाणपत्र वितरण गरेका थिए ।नेपालको ७७ वटै जिल्ला र भारतको ६ प्रान्त गरी १२ हजार ५०० किलोमिटर पैदलयात्रा गरि सकेका केसी एक आध्यामिक साधक हुन् । केसीले २१ दिन जल उपबास र ६ महिना मौन ध्यान साधना पूरा गरि सकेका छन् ।
केसीले यसअघि ८० घण्टा लगातार वक्तव्य दिएका थिए । तर प्राविधिक कारणले उनको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा लेखाउन सकिएको थिएन । शिक्षण पेशा छोडेर मनोशक्तिको अभ्यास र खोज तथा अनुसन्धानमा लागेर त्यसको तालिम समेत दिदै आएका छन् । यो अभियानका लागि ५०१ मूल आयोजक समिति र अन्य एक दर्जन बढी उपसमितिहरु गठन गरिएको थियो ।































प्रतिक्रिया