काठमाडौँ
बिमस्टेक सम्मेलनलाई लक्षित गरी काठमाडौंका मुख्य सडक सिँगारिएका छन् । तर भित्री गल्ली र चोकहरूमा भने केही दिन देखि फेरि फोहोरको डंगुर लाग्न थालेको छ । पछिल्लो समय परेको वर्षाका कारण सिसडोलमा फोहोर खन्याउन समस्या भएको छ ।
फोहोर उठाएर गएका ट्रक हिलाम्मे बाटोका कारण सिसडोलमै जाममा परेका छन् । काठमाडौंमा थुप्रिएको फोहोरले दुर्गन्ध बढाउँदैछ । अहिले निजी कम्पनीले पनि काठमाडौंमा फोहोर संकलन बन्द गरेका छन् । काठमाडौं महानगरपालिकामा मात्र ३५ निजी कम्पनीले घर–घरबाट फोहोर उठाउने गर्छन् ।
बुधबार सिसडोल पुगेका ८० ट्रक हिलो बाटोकै कारण फोहोर खसाल्न नसकेर जाममा परेको सिसडोलस्थित काठमाडौं महानगरपालिकाका कर्मचारी सरकारदीप श्रेष्ठले बताए । फोहोर माथि माटो छापेर बनाएको बाटो पानीले बगाएको र पानी पनि परिरहेकाले नयाँ माटो छाप्न समस्या भएको उनले सुनाए ।
कामपाको ट्रान्सफर स्टेसन भरिसकेको र सिसडोलमा फोहोर खसाल्न सक्ने अवस्था नरहेकाले फोहोर उठ्न छाडेको महानगरका कर्मचारीहरू बताउँछन् । गत असारमा पनि वर्षाको पानीले सिसडोलमा बाटो बिग्रिदा झन्डै एक महिनासम्म फोहोर उठ्न सकेको थिएन । श्रेष्ठका अनुसार पुरानो बाटो बन्न नसकेपछि नयाँ ट्र्याक खोलेर फोहोर माथि माटो छापेर फोहोर खन्याउने गरिएको थियो ।
दैनिक २५ वटा ट्रकले तीन वर्षसम्म २५० टन फोहोर फाल्न मिल्ने गरी सिसडोल ल्यान्डफिलसाइट बनाइएको थियो । तर १४ वर्षसम्म पनि विकल्प खोजिएको छैन । त्यसैले सिसडोलमा हरेक वर्षामा समस्या हुँदा काठमाडौंमा फोहोर थुप्रिन्छ । काठमाडौंको फोहोर सीधै गाडीमा राखेर ल्यान्डफिलसाइटमा खसाल्न सक्ने अवस्था नरहेको र जम्मा गरेर केही दिन राख्ने स्थान पनि नभएकाले समस्या भएको महानगरपालिकाको वातावरण विभागका प्रमुख हरि कुँवरले बताए ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया