अष्ट्रेलियामा नेपालको लगातार दोस्रो जित, सोमपालले लिए ह्याट्रिकसहित ५ विकेट

अष्ट्रेलियामा नेपालको लगातार दोस्रो जित, सोमपालले लिए ह्याट्रिकसहित ५ विकेट

केन्द्रबिन्दु
162
Shares

काठमाडौं । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजमा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ । डार्विनस्थित काजालिस एरेनामा आज भएको आफ्नो पाँचौँ खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले पराजित गरेको हो ।

१ सय ४० रनको लक्ष्य पछ्याएको मेलबर्न २० ओभरमा सबै विकेटको क्षतिमा १ सय ६ रन मात्र बनाउन सक्यो । यो नेपालको लगातार दोस्रो जित हो ।

मंगलबार भएको आफ्नो चौथो खेलमा पनि नेपालले होबर्ट हुरिक्यान्स एकेडेमीलाइ ६६ रनले पराजित गर्दै विजयी भएको थियो । तर त्यसअघि भएका तीनवटै खेलमा भने नेपालले पराजय भोगेको थियो । नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो भने दोस्रो खेलमा बङ्गलादेश ‘ए’ सँग ३२ रनले पराजित भएको थियो । त्यस्तै तेस्रो खेलमा नेपाल मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो ।

आज नेपालको जितमा तीव्र गतिका बलर सोमपाल कामीले जसरी ह्याट्रिकसहित ५ विकेट झारे, त्यो नै टर्निङ प्वाइन्ट बन्यो । खेललाई फर्काउने तर्फ लम्किरहेको मेलवर्नलाई रोक्न १६औँ ओभरको पहिलो बलमा सोमपालबाट १८ रन बनाएका जई लेमिर रन आउट हुने पुगे । त्यसपछि पाँचौँ बलमा २२ बलमा २६ रन बनाएका अर्जुन नायरलाई सोमपालले बोल्ड गरे । अर्को बलमा उनले फर्गुस ओ निललाई पनि एलबीडब्लूको धरापमा पार्दै पभेलियन फर्काए । साथै अन्तिम ओभरमा सोमपालले ह्यारी होएक्सट्रा र क्यालम स्टोलाई आउट गर्दै फाइफर पूरा गरे ।

त्यसअघि पनि नेपालले मेलवर्नलाई दबाबमै राखेको थियो । नेपालले तेस्रो ओभरमा नै ओपनर डायलन ब्रासरलाई आउट गरेको थियो । उनले मात्र २ रन बनाउन सके । अर्का ओपनर ह्यारी डिक्सन पनि १५ बलमा १६ रन बनाएर पभेलियन फर्किए । कप्तान विल सथरल्याण्डले पनि ६ रन मात्र बनाउन सके भने ओलिभर पिक रुपेस सिंहको बलमा क्याक आउट हुँदा १४ रन बनाएका थिए ।

नेपालका कुशल भुर्तेलले २ विकेट लिँदा रुपेश सिंह, दिपेन्द्रसिंह ऐरी र शाहब आलमले १-१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक ३९ रनको योगफल बनाएको थियो । नेपालका लागि कुशल मल्लले सर्वाधिक २९ रनको योगदान दिएका छन् । उनले २२ बलमा एक चौका र एक छक्कासहित सर्वाधिक २९ रन बनाएका हुन् ।

त्यसैगरी दीपेन्द्रसिंह ऐरीले २८ बलमा २७ रन बनाउदाँ लोकेश बमले १६ बलमा २४ रन जोडे । भीम सार्कीले १७ तथा आरिफ शेख र रुपेश सिंहले समान १२/१२ रन बनाए ।

बलिङतर्फ रेनेगेड्सका फर्गस ओनिल, लचलान बाङ्स, क्यालम स्टो र माइकल आर्चरले समान दुई/दुई विकेट लिएका थिए ।

Logo