काठमाडौं
बहुपक्षिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) को चौथो शिखर सम्मेलनमा बहुपक्षिय उर्जा सम्झौताको हुने निधो भएको छ । परराष्ट्र सचिवस्तरीय ‘सिनियर अफिसियल्स मिटिङ’ (सोम) बैठकले यो विषयलाई अनुमोदन गरेको छ ।
मंगलबारको सोम बैठकमा साझा सहमति जुटेपछि वर्षौं देखि चर्चामा रहेको उर्जा सम्झौताले मूर्त रुप लिने भएको हो । ‘अन्र्तदेशिय प्रशारणलाइन सञ्जाल विस्तार गर्ने मार्ग प्रशस्त भएको छ, यो विषयलाई सचिवस्तरीय बैठकले अनुमोदन गरेको छ’– बैठकबारे जानकारी दिदै परराष्ट्र मन्त्रालयका सह–सचिव भरतराज पौडेलले भने । त्यसैगरी विमस्टेक वडापत्र, सचिवालय, विमस्टेक कोष र अन्य क्षेत्रिय निकाय खाका तय सोम बैठकले मन्त्रीस्तरिय बैठकलाई सुझाएको छ ।
बडापत्र, कोष र क्षेत्रीय निकाय निर्देशित गर्ने स्पष्ट खाका तय नहुँदा २ दशक अवधि पार गरेको विमस्टेक गतिशिल बन्न सकेको छैन । कोष सञ्चालनको खाका र उपयोग गर्ने कार्यविधी तय नभएकाले काठमाडौं सम्मेलनमा सम्झौता नभएपनि छलफलको मुख्य एजेन्डा बन्ने निधो भएको छ । ‘कोष सञ्चालनको कार्यविधीबारे सम्मेलनपछि गठन हुने प्राविधिक समुहले विस्तृत छलफल गर्दै मोडालिटी तय गर्नेछ’–सह–सचिव पौडेलले जानकारी दिए । स्वतन्त्र व्यापार सम्झौता छलफलको अर्को महत्वर्पूण विषय हुने भएपनि सम्झौता भने यही सम्मेलनमा नहुने, आगामी महिना बंगलादेशमा हुने बैठकले यसबारको विस्तृत खाका तय गर्ने बताइएको छ ।
सचिवस्तरीय बैठकमा विमस्टेकका १४ प्राथमिकता क्षेत्र घटाउन र मिल्दा जुल्दा प्राथमिकता क्षेत्र एक आपसमा गाभ्ने विषयमा पनि छलफल भएको पौडेलले बताए । व्यापार र लगानी, कनेक्टीभिटी, दिगो विकास, उर्जा, जलवायु परिवर्तन, प्रतिआतंकवाद र संक्रमणकालीन अपराध, मानव स्रोत व्यवस्थापन जस्ता शीर्षकमा प्राथमिकता क्षेत्र सीमित गर्न प्रस्ताव गरिएको छ । सोम बैठक मंगलबार विहान ९ बजेदेखि होटल सोल्टीमा शुरु भएको थियो ।
यसै वीच मन्त्रीस्तरिय बैठकमा सहभागी हुन सबै सदस्य राष्ट्रका विदेशमन्त्रीहरु मंगलबार साँझ सम्ममा काठमाडौं आइपुगेका छन् । सम्मेलनमा सहभागी हुन राष्ट्राध्यक्ष विन मिन्ट पनि मंगलबार दिउँसो काठमाडौं आइपुगेका छन् भने उनका श्रीलंकाली समकक्षी मैथ्रीपाला सिरिसेना आज बुधवार आउँदै छन् ।
भुटानका अन्तरिम मन्त्रीपरिषद्का प्रमुख सल्लाहकार छिरिङ वाङचुक पनि बुधवार नैं काठमाडौं आउँदै छन् भने भारतीय, बंगलादेशी र थाइल्यान्डका प्रधानमन्त्रीहरु भोली विहीवार मात्रै नेपाल आउने समय तय भएको छ । मित्रराष्ट्रका पाहुनाको सम्मानमा विहीवार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले दिवा भोजको आयोजना गर्दै छिन् ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया