काठमाडौं
द्वन्द्वका कारण बेपत्ता भएका व्यक्तिको सम्झनामा विविध कार्यक्रम आयोजना गरी बेपत्ता सम्बन्धी अन्तर्राष्ट्रिय दिवस विहिबार मनाइँदैछ ।
सन् २००७ देखि रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसिआरसी) र नेपाल रेडक्रसले संयुक्तरुपमा सो दिवस मनाउँदै आएका छन् । आइसिआरसीका अनुसार नेपालको विगतको सशस्त्र द्वन्द्वमा एक हजार ३३३ बेपत्ता भएका थिए । बेपत्ता व्यक्तिका परिवारलाई आफ्ना बेपत्ता प्रियजनका बारेमा जान्न पाउने अधिकार रहेको हुन्छ ।
नेपाल रेडक्रस सोसाइटीका उपमहामन्त्री हरि न्यौपाले सोसाइटीले आफ्ना सबै जिल्ला शाखा मार्फत मानवअधिकारको संरक्षण र बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सचेतना जगाउन बेपत्ता सम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाउँदै आएको जानकारी दिए । उनले भने, “बेपत्ता परिवारका पीडा एकअर्कामा आदान प्रदान गर्दा कम हुन्छ, यसका लागि मानवीय सेवाको सर्वोच्च संस्था रेडक्रसले दिवस मनाई उचित वातावरण तयार गरिदिने गर्दछ । यसबाट सम्बन्धित निकायको पनि ध्यानाकर्षण हुन्छ ।”
यस वर्षको दिवसका अवसरमा ‘प्रतीक्षारत आँखाहरु’ शीर्षकको नाटक मञ्चन हुने तथा नेपालमा बेपत्ता भएका व्यक्तिहरुको अद्यावधिक सूची प्रकाशित हुने आइसिआरसीका सञ्चारविज्ञ विनोद काफ्ले जानकारी दिए । “बेपत्ता प्रियजनको अवस्थाका बारेमा लामो समय देखि प्रतीक्षामा रहेका पीडित तथा परिवारलाई जवाफ दिन एवं उनीहरुको अन्य आवश्यकता सम्बोधन गर्न बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग तथा सत्यनिरुपण तथा मेलमिलाप आयोगले हरसम्भव प्रयास गर्नेछ भन्नेमा हामी अपेक्षा राख्दछौँ,” आइसिआरसीका नेपाल नियोग प्रमुख आन्द्रे पाकेले भने ।
रासस





























प्रतिक्रिया