काठमाडौं
कोशी उच्च बाँध बनाउन भारतीय पक्षले सिँचाइ जलविद्युत र पानीजहाज सञ्चालनको प्रलोभन दिएको भन्दै विज्ञहरूले यसप्रति सचेत रहन आग्रह गरेका छन् । बिमस्टेक सम्मेलनका क्रममा नेपाल आउन लागेका भारतीय उच्च अधिकारीहरूबाट उच्च बाँध निर्माणका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा दवाव आउन सक्ने र यसप्रति नेपाली पक्ष सुझबुझका साथ प्रस्तुत हुन वुद्धिजीवीहरूले सुझाव दिएका हुन् ।
भदौ १४ र १५ गते काठमाडौंमा हुन लागेको बिमस्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, विदेश सचिव विजय केशव गोख्ले सहितका उच्च अधिकारीहरू काठमाडौं आउँदै छन् । “नेपालको हितमा नरहेको कोशी उच्च बाँध बनाउँन भारतले पहिले देखि नै दवाव दिँदै आएको हो,” अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त तथा पूर्व जलस्रोतसचिव सूर्यनाथ उपाध्याय भन्छन्, “अझ पछिल्लो समय त यसलाई पानीजहाजसँग पनि जोडिएको छ, यसप्रति हामी सचेत र सावधान हुनुपर्छ ।”
सरकारले ल्याउने भनेको पानी जहाज र कोशी उच्च बाँध निर्माणलाई एकै ठाउँमा जोडेर नहेर्न पनि उपाध्यायले सुझाव दिए । भारतीय स्वार्थमा आएको उच्च बाँध निर्माणको खाका नै खारेज गर्नुपर्ने उनको तर्क छ । नेपाल–भारत प्रवुद्ध समूहको बैठकमा पनि उपाध्यायले कोशी उच्च बाँध नेपालको अहितमा रहेकोले यसमा सहमति जनाउन नसकिने धारणा राखेका थिए ।
उपाध्यायको भनाइलाई नै बल पुग्ने गरी सत्तारुढ नेकपाका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री अग्नि सापकोटाले पनि पुरानै खाका अनुसार उच्च बाँध निर्माण भए राष्ट्रको हितमा नहुने धारणा राखे । “कोशी उच्च बाँध निर्माणको पुरानो खाका हाम्रो हितमा छैन, यसलाई संशोधन गरेर अघि बढ्नु पर्छ,” नेकपाका नेता सापकोटा भन्छन्, “बिमस्टेक सम्मेलनका क्रममा साइडलाइन बार्तामा पनि यो विषयले स्थान पाउँछ ।”
विज्ञहरूका अनुसार प्रस्तावित अग्लो बाँधमा सहमति भए नेपालको लगभग २ सय वर्ग किमि भूभाग जलाशयमा परिणत हुने छ । धनकुटा, भोजपुर, सुनसरी, उदयपुर, भोजपुर, संखुवासभा र तेह्रथुम जिल्ला सम्मका तटीय भूभागका साविकका ७९ गाविस डुबानमा पर्नेछन् । श्रेष्ठका अनुसार बाँध बन्दा ७९ वटा साविक गाविसका १५ हजार घरधुरी र करिव ७५ हजार भन्दा बढी नेपाली विस्थापित हुनेछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत मंसिरमा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा सप्तकोसी उच्च बाँध बनाएर स्टिमर चलाउने पक्षमा आफू रहेको सार्वजनिक रूपमै घोषणा गरेका थिए । तत्कालिन एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले प्रधानमन्त्री बन्नु अघिको उक्त भाषणमै भनेका थिए, “कोशी उच्च बाँध निर्माणपछि २ हजार ५ सय मेगावाट बिजुली उत्पादन हुने भएकोले नेपालले विद्युत निर्यात गरेर ठूलो मात्रामा आम्दानी गर्न सक्छ ।”
कारोबारबाट





























प्रतिक्रिया