काठमाडौं ।
आजभन्दा ११४१ वर्ष अघि ऋणमा डुबेका कान्तिपुर र भादगाउँका जनतालाई आफ्नो सम्पत्तिबाट ऋण चुक्ता गरी नयाँ युगको थालनी गरेका शंखधर साख्वाः अहिले पनि उपत्यकावासीको मन–मुटुमा छन् । नेपाल सरकारले नेपाल संवत् ११२० कछलाथ्व दशमी अर्थात् वि.सं. २०५६ मंसिर २ गते साख्वाःलाई राष्ट्रिय विभूति घोषित गरेको थियो । साख्वाः को सम्झनामा अहिले पनि उनलाई राष्ट्रिय विभूति घोषणा गरेको दिनलाई ‘शंखधर दिवस’ का रूपमा मनाउने गरिन्छ ।
नेपालको मानव अधिकार अभियान, भाषा र जातीय समानताको आन्दोलनमा ठूलो योगदान गरेका पद्मरत्न तुलाधर पनि धेरैले सम्झिरहने नाम हो । उनलाई प्रजातान्त्रिक आन्दोलका नेताका रुपमा पनि चिनिन्छ । देशका लागि उल्लेखनीय योगदान दिएका साख्वाः र तुलाधर जस्ता वैभव व्यक्तित्वको अमर योगदानको सम्मानमा काठमाडौँ महानगरपालिकाले रानीपोखरी नजिकै रहेको ‘शंखधर उद्यान’ मा शालिक स्थापना गरेको छ ।
यस अघि पनि महानगरपालिकाले जहाँनिया राणा शासनविरुद्धको लडाइका क्रममा सहादत प्राप्त गरेका चार शहीद (गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री) को सम्झनामा पूर्णकदको शालिक निर्माण गरिसकेको छ । महानगरले उनीहरु चारै जनालाई मृत्युदण्ड दिएको स्थान शोभा भगवती, सिफलस्थित र टेकुमा पूर्णकदको शालिक निर्माण गरेको हो । धर्मभक्तको पुर्ख्यौली टोल झोँछेमा पनि महानगरपालिकाले उनको सम्झनामा धर्मभक्त पार्क र शालिक निर्माण गरेको छ । आज सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठको प्रमुख आथित्यमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ‘शंखधर उद्यान’ मा साख्वाः र तुलाधर दुबैको शालिक अनावरण गरेका छन् । शालिकमा मन्त्री श्रेष्ठ लगायतले माल्यार्पण गरेका छन् ।
करीब २० लाखको लगानीमा महेश तुलाधरले निर्माण गरेका ती दुई शालिकको अनावरणपछि सम्वोधन गर्दै मन्त्री श्रेष्ठले महानगरपालिकाका प्रमुख शाक्यको प्रयासमा यस्ता सकारात्मक कामको थालनी भएको भन्दै प्रशंसा गरेका छन् । ‘साख्वा नेपाल संवतका प्रवर्तक र राष्ट्रिय विभूति समेत हुन् । ०५६ साल मंसिर ३ गते उनलाई राष्ट्रिय विभूति घोषणा गरिएको थियो,’ मन्त्री श्रेष्ठले भने, ‘साख्वाले घरमा ल्याएको बालुवा सुन भएपछि त्यही बेचेर जनतालाई ऋणमुक्त गराएको भन्दै शंखधर दानी व्यक्ति रहेको किंवदन्ती प्रचलित छ । वामपन्थी राजनीतिज्ञ तुलाधरले वि.सं. २०४६ सालको संयुक्त जनआन्दोलन सफल पार्न विभिन्न टुक्रामा विभाजित वामपन्थी पार्टीहरूलाई एकै ठाउँमा ल्याउन प्रमुख सूत्रधारको भूमिका निर्वाह गरेका थिए । यस्ता व्यक्तित्वहरुको सम्मानमा महानगरपालिकाले शालिक निर्माण गरेर उदाहरणीय काम गरेको छ ।’
उनले रत्नपार्कलाई ‘शंखधर उद्यान’ घोषणा गरी त्यसकै रुपमा स्थापित गराउनु ठुलो कुरा भएको बताए । वामपन्थी आन्दोलका अगुवा तुलाधर र प्रजातान्त्रिक आन्दोलनका अगुवा गणेशमान सिंहको विचमा शंखधरको शालिक निर्माण हुनु इतिहासको सम्मान भएको बताए । नेपाल संवतलाई राष्ट्रिय मान्यता दिलाउन आन्दोलन गरेको नेपालभाषा मंका खलः नामक संस्थाका अध्यक्षसमेत रहेका तुलाधरलाई तत्कालीन राष्ट्रिय पञ्चायतको चुनावमा भाग लिई राष्ट्रिय पञ्चायत भित्रै पञ्चायती व्यवस्था खारेजीको माग गरेको जस पनि जान्छ ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख शाक्यले राज्यलाई योगदान गरेका व्यक्ति, शहीद र राष्ट्रिय विभूतिलाई सबैले चिरकालसम्म चिनुन् र सम्झिरहुन् भनेर महानगरपालिकाले शालिक निर्माण गरेको जानकारी दिए । ‘उनहरुको योगदानलाई कतिपय अवस्थामा हामीले विर्सन चाहेर पनि विर्सन सक्दैनौँ । अझ उपत्यकावासीका लागि शंखधर र पद्मरत्न मन मुटुमा छन्, उनले भने, ‘हामीले उहाँहरुको सम्मानमा शालिक निर्माण गर्न पाउँदा खुशी छौँ । हामीले पार्कभित्र शालिक राखेर सधैं सबैले चिन्न र देख्न सकुन भन्ने ठानेका छौँ । उनले काठमाडौंका नेवार मात्रै होइन सबै मिलेर देश निर्माणमा लाग्नुपर्छ भन्ने नेता तुलाधारप्रति सम्मान गर्न पाएका छौँ ।’
वागमती प्रदेशका भौतिक पुर्वाधार मन्त्री रामेश्वर फुयालले पनि सम्वोधन गरेका छन् । सहरी विकास राज्यमन्त्री रामविर मानन्धर पनि कार्यक्रममा सहभागी रहेका थिए ।





























प्रतिक्रिया