बेमौसमी तरकारीको ‘राजधानी’ का रुपमा परिचित उत्तरी मकवानपुरका किसानले वर्षौंदेखि तरकारीको उचित मूल्य पाउन सकेका छैनन् । "/>

टिष्टुङमा सिण्डिकेट गरेर तोकिन्छ तरकारीको भाउ

टिष्टुङमा सिण्डिकेट गरेर तोकिन्छ तरकारीको भाउ

केन्द्रबिन्दु
0
Shares

बेमौसमी तरकारीको ‘राजधानी’ का रुपमा परिचित उत्तरी मकवानपुरका किसानले वर्षौंदेखि तरकारीको उचित मूल्य पाउन सकेका छैनन् ।

थाहानगरको टिस्टुङ, बज्रवाराही, पालुङ, दामन, चित्लाङ लगायतका कृषक बर्षाैदेखि चरम मारमा पर्दै आएका हुन् । यस आसपास बिचौलियाहरुको मिलमतोबाट सिण्डिकेट गरेर तरकारीको मूल्य तोक्दै आएका छन् । बिचौलियाहरु मिलेर तरकारीको भाउ तोक्ने भएकाले कृषकहरुले उचित मूल्य नपाएका हुन् । बिचौलियाहरु कृषकको खेतबारीमै पुगेर तरकारी उठाउने गरेका छन् ।

उनीहरुले काठमाडौंमा चलिरहेको भाउ समेत ढाँटेर आफु अनुकुल तरकारीको भाउ तोक्ने गरेका छन् । काठमाडौंमा करिब ५० रुपैंया प्रतिकिलोमा कारोवार भइरहेको तरकारी टिस्टुङमा करिब ५ रुपैंयामा करोबार भैरहेको हुन्छ । काठमाडौँको कालिमाटी बजारमा कारोबार भैरहेको भन्दा औसतमा १० गुणाभन्दा कम मुल्य मात्रै किसानले पाउछन । 

पछिल्लो समय थाहानगरको बज्रवाराहीमा ब्यवसायीक तरकारी खेती गर्ने कृषकहरु बढेका छन् । तर उनीहरु यसपटक निराश छन् । पर्याप्त लगानी गरेर तरकारी खेती गरेका लिलाखेलका कृष्ण बलामीले उचित मूल्य नपाएको गुनासो पोखे । ब्यवसायीक गोलभेडा खेती गरेका उनी लगायत आधा दर्जन कृषकहरुले यस पटक उचित मूल्य नपाउदा निराश छन् ।

उक्त क्षेत्रमा कृषि उपजका वस्तुहरु उत्पादन हुने पकेट क्षेत्रलाई थप व्यवस्थित गरेर कृषिजन्य वस्तु उत्पादनमा वृद्धि गर्ने उद्धेश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा थाहानगर–३ मा व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) कार्यालय पनि स्थापना भएको छ ।

थाहामा परियोजना कार्यान्वयन एकाईं (तरकारी जोन) को रुपमा कार्यालय स्थापना भएको हो । कृषिका चार वटा संवाहक सुपर जोन, जोन, ब्लक र पकेटअन्तर्गत् त्यहाँ जोन स्थापना भएको हो । यो मकवानपुरको पहिलो कृषि जोन हो ।जोनअन्तर्गत् थाहानगर–१ देखि १० नम्बर वडा र इन्द्रसरोवर गाउँपालिकाको पाँच वटै वडा छन् । जोन स्थापनापछि कृषकले हाल अपनाइरहेको कृषि प्रविधिलाई आधुनिकीकरण गर्न थप मद्धत मिल्ने जनाइएको छ ।

कृषि पेशालाई थप व्यवस्थित गर्न कृषिमा यान्त्रिकीकरण, ट्रयाक्टर र पावरटेलर प्रविधि विकासका लागि औजारको अनुदान र सेवासुविधाका लागि थप कल्याणकारी कृषि कार्यक्रम सञ्चालन गरिने जिल्ला कृषि विकास कार्यालयले बताएको छ ।

तरकारी उत्पादनको उर्वर क्षेत्र मानिएको थाहानगर र इन्द्रसरोवरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा कृषिलाई आधुनिकीकरण गर्न खोजिएको हो । जोन परियोजना कार्यान्वयन एकाईंमार्फत् व्यावसायिक तरकारी उत्पादनलाई जोड दिनुका साथै कृषकको क्षमता अभिवृद्धिका कार्यक्रम, उन्नत खेती प्रविधि प्रदर्शनीलगायत कार्यक्रम सञ्चालन हुनेछ ।

जोनमार्फत् सञ्चालन हुने कार्यक्रम सीधै व्यक्तिमा पुग्दैनन् । जोन कार्यक्षेत्रमा रहेका क्रियाशील कृषक समूह, कृषि सहकारी, कृषि फर्मलगायत मार्फत् सेवा तथा अनुदान कृषकसमक्ष पुर्‍याउने प्रावधान छ ।

जोन स्थापनापछि किसानले अत्याधुनिक कृषिप्रविधि अपनाएर उत्पादनमा समेत वृद्धि गर्ने र उच्च गुणस्तरका तरकारी उत्पादन गरेर राम्रो मूल्य लिनसक्ने छन् । आर्थिक वर्ष २०७३/०७४ बाट शुरु परियोजना १० वर्षका लागि भएकाले जोन पनि सोहीअन्तर्गत् कार्यक्रम भएको हो ।

Logo