नुवाकोट
विहिबार राती काठमाडौंबाट पक्राउ गरी नुवाकोट ल्याइएका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई तीन दिन थुनामा राख्न नुवाकोट अदालतले अनुमती प्रदान गरेको छ । दुई थान स्काभेक्टरमा आगजनी गरिएको अभियोगमा उनलाई जिल्ला अदालत नुवाकोटले थुनामा राखि अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयलाई अनुमती दिएको हो ।
साउन ७ गते बेलकोटगढी नगरपालिका– ९ स्थित धमले–दुईपिपल सडक निर्माण गर्ने नागार्जुन कन्सट्रक्सन प्रालिको दुई थान स्काभेक्टरमा आगजनी भएको थियो । ती दुई स्काभेक्टरमा विश्वकर्माको नेतृत्वमा आगजानी भएको भन्ने अभियोग लागेकोले अनुसन्धान गर्न नुवाकोट प्रहरी कार्यालयले ७ दिनको म्याद थप गर्ने अनुमती मागे पनि जिल्ला न्यायाधीश ऋषिकेश वाग्लेले तीन दिनको अनुमति दिएका हुन् ।
जिल्ला अदालतले तीन दिन थुनामा राख्न अनुमती दिंदा झण्डै तीन वर्ष पछि नुवाकोटमा पाइला टेकेको प्रतिक्रिया विश्वकर्माले दिएका छन् । स्काभेक्टरको आगजानीमा आफ्नो संलग्नता नभएको भन्दै उनले भने, “बर्तमान सरकारसँग मेरो पार्टीको सहकार्य छैन । षड्यन्त्र गरेर मलाई र पार्टीलाई फसाउन लागेको हो, म नुवाकोट नआएकै दुई तीन वर्ष भइसक्यो । कसरी मेरो नेतृत्वमा स्काभेक्टरमा आगो लाग्छ ?”
नागार्जुन कन्सट्रक्सन प्रालिले स्काभेक्टरमा आगलागी हुनु अघि विश्वकर्मा नेतृत्वले चन्दा मागेको र नदिए पछि घटना घटाएको भन्ने विषयमा मुद्धा दर्ता भएको जनाएको छ । आगजानीको घटना गराउने क्रममा विश्वकर्मा सहित १५ जनाको संलग्नता भएको भन्ने मुद्धा दर्ता भएको थियो । उनलाई ६ महिना कैद र दुई करोड २३ लाख रुपैयाँ क्षतिपूर्ति माग दाबी सहित अदालतमा आगजनी मुद्धा दर्ता गरिएको छ ।
नागरिकबाट





























प्रतिक्रिया