विर्तामोड । झापाको कनकाई नगरपालिका–८ स्थित बिरिङ पुलमा आज राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एकै परिवारका चार जना घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार राति करिब ८ः४० बजे मे १ च ३४४० नम्बरको मारुती भ्यान र मे १ च ५४४६ नम्बरको बोलेरो पिकअप आपसमा ठोक्किदा दुर्घटना भएको हो । दुवै सवारी तीव्र गतिमा रहेकाले दुर्घटना भएको अनुमान गरिएको छ ।
दुर्घटनामा मारुती भ्यान चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका उनको उपचारका लागि बि एण्ड सी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकको पहिचान खुलेको छैन । सोही दुर्घटनामा शिवसताक्षी–७ का ४० वर्षीय पृथ्वीनाथ साह, उनकी श्रीमती ३७ वर्षीया पुनमदेवी साह, १४ वर्षीय छोरा प्रसन्न साह र नौ वर्षीया छोरी प्रिन्सा साह घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि बि एण्ड सी अस्पताल पु-याइएको र अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।
प्रहरीले बोलेरो पिकअप चालक धनकुटा महालक्ष्मी–८ का २४ वर्षीय सुमन पौडेललाई नियन्त्रणमा लिएको ट्राफिक कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले बताए ।





























प्रतिक्रिया