खोटाङ
कारागारबाट फरार एक कैदी १३ वर्षपछि पुनः पक्राउ परेका छन् । पक्राउ पर्नेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ३६ वर्षीय वीरबहादुर तामाङ रहेका छन् । उनी २०६२ साल असार ५ गते कारागारबाट भागेका थिए । प्रहरीले उनलाई विहिबार घरैबाट पक्राउ गरेका हुन् ।
पक्राउ परेका तामाङलाई बिहीबारै जिल्ला अदालतमा हाजिर गराएर कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक राजकुमार केसीले जानकारी दिए । “हत्यामा संलग्न मध्ये कटकबहादुर तामाङ यस अघि नै पक्राउ परेर कैद भुक्तान गरिरहेका छन्,” उनले भने, “घटनामा संलग्न अझै एक जना फरार छन्, उनको खोजी भइरहेको छ ।”
वि.सं. २०६० असोज १५ गते स्थानीय २१ वर्षीय नवराज दाहालको हत्या गरेको अभियोगमा तामाङ सहित तीन जना पक्राउ परी पुर्पक्षका लागि कारागारमा रहेका थिए । जिल्ला अदालत खोटाङले २०६३ चैत ६ गते तीनै जनालाई २०/२० वर्ष कैद सजायँको फैसला गरेको थियो । दाहालको हत्या लगत्तै पक्राउ परेका उनीहरुले दुई वर्ष नौ महिना १० दिन कैद भुक्तानी गरिसकेका थिए ।
रासस































प्रतिक्रिया