काठमाडौँ
कञ्चनपुर भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको गत १० साउनमा बलात्कारपछि हत्या गरेर शव उखुबारीमा फालिएको थियो । न्यायका लागि चौतर्फी दबाब हुँदा पनि सार्थक अनुसन्धान गर्न नसकेको प्रहरीले घटनाको २५ औँ दिनमा गत सोमबार निर्मलाका बाबुआमालाई जिल्ला प्रहरी कार्यालय बोलाएको थियो । दोषीका रूपमा प्रहरीले एकजना उभ्याएको थियो र उनीविरुद्ध किटानी जाहेरी दिन अभिभावकलाई दबाब दियो ।
आफूले नचिनेको र घटनामा उनी संलग्न छन् कि छैनन् भन्ने जानकारीविना केका आधारमा किटानी जाहेरी दिने भन्ने अभिभावकको प्रश्न थियो । तर प्रहरीले दिलीपसिंह विष्ट नाम गरेको ती युवा नै अपराधी भएको ठोकुवा गर्दै लिखित जाहेरी दिन बाबुआमालाई दबाब दियो । ‘ल ठीक छ त्यो मान्छे को हो ? मलाई एकपटक भेट्न दिनुहोस्, म उसका कुरा सुन्छु र उसले अपराध स्वीकार गर्यो भने किटानी जाहेरी दिन्छु, बाँकी कारबाही तपाईं गर्नुहोला भनेर मैले बिन्ती पनि गरेँ, तर प्रहरी सरहरूले मान्नु भएन ।
किटानी जाहेरी दिनूस् भनेर एकोहोरो जिद्दी गर्नुभयो,’ निर्मलाका बुबा एकराज पन्तको भनाइ छ । आफूले चिन्दै नचिनेको मान्छेको नाममा किटानी जाहेरी दिन नमानेपछि अनुसन्धानमा असहयोग गरेको भन्दै प्रहरीले आफूलाई मानसिक यातना दिएको उनको गुनासो छ ।
प्रहरीले विष्ट दोषी हुन् भन्ने लेख्न लगाएर अनुसन्धानको जिम्मेवारीबाट पन्छिन खोजेको भन्दै स्थानीयले आन्दोलन सुरु गरेका छन् जसले कञ्चनपुर तनावग्रस्त छ । प्रहरीको अनुसन्धानमा स्थानीयलाई किन विश्वास छैन भने आरोपी विष्ट मानसिक सन्तुलन गुमाएका व्यक्ति हुन् । बाटोमा निर्मलाको साइकल बिग्रिएको र बनाइदिने भन्दै दिलीपले उखुबारीमा लगेर बलात्कार गरेको प्रहरीको दाबी छ ।
तर मानसिक सन्तुलन बिग्रिएका युवाले भन्दैमा निर्मला पछिपछि गइन् होला भन्नेमा स्थानीयलाई विश्वास छैन । त्यस्तै आफैँ पनि शारीरिक रूपमा जीर्ण देखिने दिलीपले निर्मलालाई एक्लै उखुबारीमा लगेर बलात्कार गर्न सके भन्ने दाबी पनि भरपर्दो मानिएको छैन । तीन सातापछि प्रहरीले घटनास्थलबाट एउटा कन्डम र एउटा खल्तीको टुक्रा बरामद गरेको दाबी गरेको छ । बलात्कार र हत्या गर्ने कुनै पनि पुरुष कन्डम बोकेर हिँड्छ भन्नेमा पनि शंका छ । प्रहरीको यस किसिमको दोहोरो र शंकास्पद अनुसन्धानले यतिखेर प्रहरी माथि विश्वासको संकट उत्पन्न भएको छ ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया