नेपालमा आर्जित शिक्षा र सीप देशकै विकासमा प्रयोग गर्न सक्ने वातावरण बन्नुपर्छः प्रकाश पाण्डे

नेपालमा आर्जित शिक्षा र सीप देशकै विकासमा प्रयोग गर्न सक्ने वातावरण बन्नुपर्छः प्रकाश पाण्डे

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । शैक्षिक परामर्श व्यवसायीहरूको छाता संगठन (इक्यान) का निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित र जिम्मेवार बनाउन महासंघ गठन गरिएको बताएका छन्।

शुक्रबार आयोजित इक्यानको २९ औं कार्यक्रममा बोल्दै पाण्डेले विगतमा अग्रजहरूको निरन्तर प्रयास र भिजनकै कारण इक्यान आज देशकै सबैभन्दा पुरानो र ठूलो संस्था बनेको बताए। इक्यानसँग ७०७ वटा सदस्य संस्था र देशभर आठ वटा शाखा रहेका छन्।

“हिजो नेतृत्वले देखाएको भिजन र गरेको मेहनतकै परिणाम स्वरुप आज इक्यान बनेको हो,” उनले भने, “यही अनुभव र आधारका कारण महासंघ पनि यसैको अगुवाइमा अघि बढ्नु पर्नेछ।”

पाण्डेले शैक्षिक परामर्श व्यवसाय समाज, राज्य र नेतृत्वकै मूल्यांकनमा पर्ने क्षेत्र भएकाले पारदर्शिता, नियमन र व्यवस्थित सञ्चालन अपरिहार्य भएको बताए। उनका अनुसार नेपालबाट विदेश जाने विद्यार्थीहरूले शिक्षा आर्जन गर्दै त्यहाँको श्रम बजारमा योगदान दिनुका साथै रेमिट्यान्स पठाइरहेको हुँदा यसलाई व्यवस्थित रुपमा उपयोग गर्न सके नेपालको अर्थतन्त्रलाई थप मजबुत बनाउन सकिन्छ।

“विद्यार्थीले आर्जन गरेको शिक्षा र सीप नेपालकै विकासमा प्रयोग गर्न सक्ने वातावरण बनाउन आवश्यक छ,” उनले जोड दिए।

उनले अहिले विद्यालय शिक्षा ऐन निर्माण प्रक्रियामा रहेको र यसले शैक्षिक परामर्श क्षेत्रलाई पनि असर गर्ने भएकाले ऐन पारित हुनु अघि आवश्यक व्यवस्थाहरू स्पष्ट राख्नुपर्नेमा जोड दिए। “पुरानो शिक्षा ऐनले व्यवसायलाई राज्य स्वीकृतिबिनै सञ्चालन गर्न नपाइने व्यवस्था गरेको थियो, तर नयाँ ऐनमा यसबारे मौनता देखिएको छ,” पाण्डेले भने।

उच्च शिक्षा ऐन अझै आउन बाँकी रहेको उल्लेख गर्दै पाण्डेले दिगो नियमन र स्पष्ट नीति नबन्ने हो भने यो क्षेत्र थप चुनौतीमा पर्ने चेतावनी दिए। कार्यक्रममा एनसीसी, एफएनसीसीआईका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो। वक्ताहरूले शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन महासंघको भूमिका महत्वपूर्ण हुने धारणा राखे।

Skip This
Skip This
Logo