काठमाडौँ
राजधानी लगायत देशका मुख्य सहरमा दुई वर्ष अघि प्रदूषण मापन गर्ने उपकरण जडान गरियो । तर अहिले ती उपकरण प्रयोगविहीन भएका छन् । कुनै उपकरणले सही तथ्यांक दिँदैनन् त कुनैको ब्याट्री नै चोरी भएर बन्द अवस्थामा छन् । केही उपकरणले सही तथ्यांक दिए पनि विश्लेषण गरेर प्रदूषण घटाउने प्रयास भएको छैन । अहिले सम्म देशभर गरी जम्मा १५ वटा प्रदूषण मापन उपकरण जडान गरिएका छन् । जब कि एउटै उपकरणको एक करोड भन्दा बढी मूल्य पर्छ ।
कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस परिसरमा प्रदूषण मापन उपकरण स्थापना गरिएको थियो । रेखदेख र हेरचाह गर्ने जिम्मा भौतिकशास्त्र विभागलाई थियो । तर उपकरणको ब्याट्री चोरले टप्काएपछि एक वर्ष देखि प्रदूषण मापन हुन सकेको छैन । फेरि ब्याट्री राख्ने तयारीमा रहेको वातावरण विभागकी प्रवक्ता सफलता श्रेष्ठले बताइन् ।
दाङ, लुम्बिनी, नेपालगन्ज र सुनसरीको झुम्कामा जडान गरिएका उपकरणले भने तथ्यांक नै दिँदैनन् । तथ्यांक नदिने अवस्थामा पुगेका उपकरण कतिपय त जडान भएको एक वर्ष मात्रै भएको छ । कतिपय उपकरणले प्रदूषण मापन नै गर्न नसक्नुमा केन्द्रीय सर्भरसँग जडान नगरिनु कारण रहेको विभागको तर्क छ ।
हाल उपत्यकामा रत्नपार्क, शंखपार्क, पुल्चोक, भैँसेपाटी आवास क्षेत्र, कीर्तिपुर, भक्तपुर आर्मी स्कुलमा यस्तो उपकरण राखिएको छ । काभ्रेको धुलिखेल, कास्कीमा पोखरा विश्वविद्यालय नजिक र गण्डकी बोर्डिङ स्कुलमा राखिएको छ । यस्तै लुम्बिनी, सौराहा, नेपालगन्ज, दाङ, सुनसरीको झुम्कामा प्रदूषण मापन उपकरण राखिएको छ । यी ठाउँमा राखिएको उपकरण पनि क्यालिबे्रसन गर्ने नाममा लामो समय सम्म बन्द हुने गरेका छन् ।
नयाँ पत्रिकाबाट































प्रतिक्रिया