ललितपुर
ग्वार्को बस्दै आएका दीपक थापाले चालक अनुमतिपत्रका लागि लिइएको लिखित र प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेको आठ महिना भयो । अझैसम्म उनको हातमा चालक अनुमतिपत्र पर्न सकेको छैन ।
उनले दैनिकजसो कार्यालयमा सम्पर्क गरेर अनुमतिपत्र आए वा नआएको बुझ्ने गरेका छन् । उनले सधैँ जवाफ नकारात्मक नै पाउँछन् । गत साता भने उनी कार्यालयमा नै आफ्नो अनुमतिपत्र कहिले आउँछ भन्ने बुझ्न आएको अवस्थामा भेटिए । उनले भने, “अझै पनि कहिले आउँछ भन्ने टुङ्गो छैन भन्ने जवाफ पाएँ ।”
यातायात व्यवस्था कार्यालय वाग्मती अञ्चल कार्यालयबाट चालक अनुमतिपत्रका लागि लिइएको परीक्षा उत्तीर्ण भएका थापा जस्ता झण्डै चार लाख जनाले अनुमतिपत्र पाएका छैनन् । नौ महिना पहिले परीक्षा पास गर्ने सेवाग्राही समेत चालक अनुमतिपत्रका लागि लिइएको परीक्षा पास भएर सरकारलाई तिरेको राजश्वको कागज लिएर हिँड्छन् ।
विभागमा छाप्ने उपकरण (मेशिन) कमीका कारण धेरै सेवाग्राहीले हैरानी बेहोरेका छन् । एकातिर उनीहरुले परीक्षा उत्तीर्ण भएको लामो समय बित्दा समेत अनुमतिपत्र पाएका छैनन् भने अर्कातिर ट्राफिक प्रहरीले सडकमा रसिदका भरमा चलाउँदा अनुमतिपत्र नै माग्ने गरेका छन् ।
सेवाग्राहीलाई परेको समस्याका बारेमा जानकारी भएर पनि केही गर्न नसकिएको वाग्मती अञ्चल कार्यालयका सूचना अधिकारी भक्त विष्टले बताए । यहाँबाट लिइएको परीक्षा पास गरेको लामो समय बित्दा समेत सेवाग्राहीले प्रमाणपत्र पाएका छैनन् । उनी भन्छन् , “भएका उपकरण अपुग भए थपेर पनि सेवाग्राहीलाई चाँडो सेवा दिनुपर्छ ।”
आफूले राजश्व तिरेको लामो समय हुँदा समेत चालक अनुमतिपत्र नपाएको भन्दै धेरै जना सेवाग्राही कार्यालय आउने गरेका छन् । कतिपयले नम्र भाषामा त कति सेवाग्राही त झगडा गर्ने उद्देश्यले आइपुग्ने सूचना अधिकारी विष्टले बताए । उनी भन्छन्, “समयमा दिन नसक्नु हाम्रै गल्ती हो । त्यसैले चुप लागेर बस्नुपर्ने अवस्था छ ।” पटक–पटक यहाँ आइरहेका सेवाग्राही बढी रिसाउने गरेका छन् ।
रासस































प्रतिक्रिया