बनेपा
प्रहरीले सङ्गठीत अपराधमा संलग्न रहेको आरोपमा पक्राउ गरिएका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वका नेकपाका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड) लाई आइतबार तीन दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा राखेको छ ।
“जिल्ला अदालत धुलिखेलले आज सम्मका लागि म्याद थप गरेको छ,” जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले भन्नुभयो, “फेरी भोलिबाट म्याद थप गरी अनुसन्धानका लागि प्रक्रिया अगाडि बढ्नेछ ।”
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक खड्काले गत वैशाख १ गते काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडास्थित ब्लु साइन क्रसर उद्योगमा आगजनी गरेको कार्यमा संलग्न रहेको पाइएको कारण पक्राउ गरिएको बताए ।
चन्दा असुलीको आरोपमा पक्राउ गरिएका कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका–६ घर भएका नेता प्रकाण्डलाई शुक्रबार बेलुका सर्वोच्च अदालत परिसरबाटै प्रहरीले पुन पक्राउ गरी काभ्रे जिल्ला प्रहरी कार्यालय धुलिखेलमा ल्याएको हो ।
यसअघि सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले विप्लव नेतृत्वको पार्टी नेकपाका केन्द्रीय सदस्यद्वय वीरेन्द्रनगर नगरपालिका–२० का कृष्ण धमला (गम्भीर) र धादिङ जिल्ला निलकण्ठ नगरपालिका–३ का मोहन कार्की (जीवन्त) लाई पक्राउ गरी काभ्रे जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
रासस































प्रतिक्रिया