काठमाडौँ
प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ बजे प्रदेश नं २ को प्रदेश सभामा सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रदेश सभामा सम्बोधन गर्न प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड आज धनुषा जादै छन् । प्रदेश नं २ को प्रदेश सभा सम्बोधन गर्न र तत्कालीन नेकपा माओवादीको दश वर्षे जनयुद्धका सहिद रामवृक्ष यादवको २४ औं स्मृतिसभालाई सम्बोधन गर्न नेकपाका अध्यक्षद्वय ओली र प्रचण्ड धनुषा जान लागेका हुन् ।
प्रधानमन्त्री ओलीले प्रदेशसभालाई सम्बोधन गर्ने भएकाले अनिवार्य उपस्थितिका लागि प्रदेश २ का सबै सांसदलाई सन्देश पठाइएको सभामुख सरोज यादवले जानकारी दिए । प्रधानमन्त्री ओलीलाई भव्य स्वागत गर्न जनकपुर विमानस्थलदेखि प्रदेशसभासम्म ५ वटा स्वागत गेट निर्माण गरिएको छ ।
प्रधानमन्त्री ओलीसँगै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, विज्ञान प्रविधि तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ लगायत संघीय सांसद एवं अतिथिहरु प्रदेशसभामा जाने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेशसभामा सम्बोधन पश्चात ओली र प्रचण्ड लगायत संघीय मन्त्रीहरु धनुषाको बरमझियामा आयोजना हुने सहिद रामवृक्ष यादवको स्मृतिसभामा सहभागी हुने कार्यक्रम छ । ओली र प्रचण्डले यादवको स्मृतिसभालाई संयुक्त रुपमा सम्बोधन गर्ने बताईएको छ ।































प्रतिक्रिया