काठमाडौँ
संघीय संसद्का १४ वटा विषयगत समितिका सभापतिको पूर्वघोषित निर्वाचन डेढ साता पर सरेको छ । राष्ट्रिय सभाका ४ समितिका सभापतिको आइतबार तथा प्रतिनिधिसभाका १० समितिको आगामी मंगलबार निर्वाचन तोकिएको थियो । अब राष्ट्रिय सभाका समिति सभापतिको १३ भदौ तथा प्रतिनिधिसभातर्फको १७ भदौमा निर्वाचन गरिने भएको छ ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले समिति सभापतिको निर्वाचन विशेष कारण भन्दै १७ भदौ सम्म सारिएको जानकारी दिए । यसअघि बिहीबार राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पनि १३ भदौलाई निर्वाचन मिति सारिसकेका थिए ।
सरकारका कामको अनुगमन तथा मूल्यांकन गरी निर्देशन दिन सक्ने सम्मको क्षेत्राधिकार संसदीय समितिलाई रहन्छ । यसका सभापतिलाई राज्यमन्त्रीसरह सेवासुविधा दिइन्छ । प्रत्येक समितिमा स्पष्ट बहुमत भए पनि प्रमुख प्रतिपक्षी कांग्रेसलाई सार्वजनिक लेखा समितिको सभापति दिन सत्तापक्ष नेकपाले तयारी गरेको छ । यद्यपि कांग्रेसले ४ वटा समितिको सभापति दाबी गरिरहेको छ ।
सत्ता साझेदार दल संघीय समाजवादी फोरमले एउटा समितिको नेतृत्व दाबी गरेकाले छलफल चलिरहेको नेकपाका नेताहरूले बताए । फोरमलाई एउटा समिति दिएर बाँकी १२ समितिका सभापतिमा नेकपाले उम्मेदवारी दिनेछ ।
समिति सभापतिको निर्वाचन मिति पर सर्नुको एक कारणमा कांग्रेस सभापति शेरबहादुर देउवाको विदेश यात्रालाई देखाइएको छ । कांग्रेस सभापति देउवा हाल उपचारको क्रममा नेपाल बाहिर छन् । उनी स्वदेश फर्कन अझै केही दिन लाग्ने भन्दै कांग्रेसले निर्वाचन केही दिन पर सार्न आग्रह गरेको बुझिएको छ । यस्तै आगामी बुधबार बकर इद रहेकाले मुस्लिम सांसदहरूले समेत निर्वाचन सार्न सभामुखलाई आग्रह गरेको महराका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिए ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया