काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को सुरुवाती महिनादेखि नै नेपालमा घरजग्गा कारोबारमा उल्लेखनीय गिरावट देखिएको छ । अघिल्लो वर्ष केही सक्रिय देखिएको यस क्षेत्रमा हाल पुनः मन्दी देखिएको छ ।
भूमि व्यवस्था तथा अभिलेख विभागका तथ्यांकहरूका अनुसार २०८२ सालको साउन महिनामा देशभर जम्मा ३१ हजार ६ सय २१ वटा मात्र घरजग्गा कारोबार भएको छ । यो संख्या २०८१ को सोही महिनाको तुलनामा करिब २८ प्रतिशतले कम हो ।
त्यस्तै, अघिल्लो महिना अर्थात् २०८१ को असारमा ५५ हजार ५ सय २४ कारोबार भएका थिए । जसको तुलनामा साउनमा करिब ४३ प्रतिशतले कारोबार घटेको हो । सम्पूर्ण अघिल्लो वर्षभरिमा ५ लाख ९० हजार ५ सय ४३ कारोबार भएको तथ्यांक विभागले जनाएको छ ।
२०८२ साउन महिनामा काठमाडौं उपत्यका भित्र जम्मा ३ हजार २० घरजग्गा कारोबार भएका छन् । ललितपुरको लगनखेल मालपोत कार्यालयमा ६१६ कारोबार हुँदा गोटीखेलमा भने मात्र ६ कारोबार भएको छ ।
भक्तपुर मालपोत कार्यालयमा ८२० कारोबार भएका छन्। काठमाडौं जिल्लाभित्र रहेका विभिन्न मालपोत कार्यालयहरूमा डिल्लीबजार १६३, चाबहिल ३६२, कलंकी ४६६, मनमैजु २०४, साँखु २६३, र टोखा १११ वटा कारोबार भएका छन् ।
साउन महिनामा देखिएको यो गिरावट भदौमा समेत सुधार हुने संकेत नदेखिएको व्यवसायीहरू बताउँछन् । उनीहरूका अनुसार हालको अवस्था बजारका लागि निराशाजनक छ ।





























प्रतिक्रिया