काठमाडौँ
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्परा अनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरेर मनाइँदैछ ।
यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायत जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । सूर्योदयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका लागि शुभ मानिने भएकाले बिहीबार नागपञ्चमीको निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।
“बुधबार बिहान सात बजेर ३५ मिनेटसम्म चौथी तिथि थियो, त्यसैले सूर्योदयकाल भेटेन, बिहीबार बिहान ६ बजेर १९ मिनेटसम्म पञ्चमी तिथि छ, सूर्योदयले युक्त तिथि शुद्ध मानिन्छ, यसैले बिहीबार नै नागपञ्चमी पर्व मनाउनुपर्छ”, उनले भने ।
नाग पूजाको प्रचलन वैदिककाल देखि नै शुरु भएको हो । वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा बसेको हो । वराहपुराणमा उल्लेख भए अनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ ।
प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिंदै आइएको हो । नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन काल देखि नै छ । भगवान शिवले नागको माला लगाउने र भगवान विष्णु जल माथि शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवानलाई नागका रुपमा मान्ने गरिएको हो ।
प्रथम पूजाको अधिकार पाएका भगवान गणेशको एक हातमा नाग छ । भगवान विष्णुको अवतारका रुपमा जन्म लिएका श्रीरामचन्द्रका भाइ लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतारका रुपमा मानिन्छ । श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसङ्ग विभिन्न पुराणमा वर्णन गरिएको छ । विष्णुको नवौंँ अवतारका रुपमा जन्म लिएका बुद्धको मूर्तिको शिरमा मुकुटाकारका रुपमा सर्पको आकृति रहेको हुन्छ । मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला लगाइएको हुन्छ । जैन तीर्थङ्करहरुको शिरमा समेत सर्पाकार मुकुट हुन्छ ।
काठमाडौंका नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशभरका नागदह, कुण्ड, र नाग स्थानमा आज विशेषरुपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दूबो, खीर र रोटी लगायत परिकार प्रसाद चढाउने गरिन्छ । वैज्ञानिकरुपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्प लगायत जीवले शोषण गरी मानव लगायत अन्य जातिलाई बिषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रीत बसालेको विश्वास छ ।
रासस































प्रतिक्रिया