विराटनगर
मोरङको लेटाङ नगरपालिका ९ जाँतेस्थित श्री माध्यमिक विद्यालयको पानी ट्यांकीमा मंगलबार हानिकारक किटनाशक विषादी हालेको भेटिएको छ । मानव स्वास्थ्यका लागि अत्यन्तै घातक मानिने साइपरमेथिन समूहको साइप्रिन नामक विषादी ट्यांकीमा हालिदिएर अमानवीय हर्कत प्रदर्शन गरेको विद्यालयले जनाएको छ । कसले यस्तो कार्य गरेको हो भन्ने थाहा भएको छैन ।
पानी पिउँदा २८ बालबालिका बिरामी परेका छन् । बिरामी मध्ये चार जनाको अवस्था गम्भीर छ। लेटाङ ८ र ९ घर भएका विद्यार्थी बिरामी परे पनि अधिकांश लेटाङ ९ का छन् ।
प्रधानाध्यापक खेमराज दुलालका अनुसार ११ बजे तिर ट्यांकीको पानी पिउने क्रममा गन्ध आएपछि विद्यार्थीले विद्यालय प्रशासनलाई खबर गरेका थिए । ट्यांकीमा हेर्दा एक सय मिलिलिटरको साइपरमेथिन समूहको साइप्रिन नामक किटनाशक विषादीको बट्टा फेला परेको छ। विषादी मिसिएको पानी कति जनाले खाए भन्ने यकिन नभएपछि विद्यालयले गाउँ भरी नै ‘माइकिङ’ गरेर विद्यालयमा आएर पानी पिउने विद्यार्थीलाई सम्पर्क राख्न सूचना गरेको छ ।
‘विद्यार्थी बिरामी पर्न थालेपछि तत्काल पठन पाठन बन्द गरियो,’ दुलालले भने, ‘हाम्रा अगाडि बिरामी भएकालाई अस्पताल पठाउँदै घरमा पुगेका विद्यार्थीलाई घरैबाट पनि उपचारका लागि लगियो ।’





























प्रतिक्रिया