भक्तपुर । मध्यपुरथिमिमा आश्विन शुक्ल पूर्णिमाको अवसरमा आइतबार मनाइएको ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’(जिब्रो छेड्ने जात्रा)ले इतिहासमा पहिलो पटक भक्तपुर नगरको परिक्रमा गरेको छ ।
यसवर्ष जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका साहसी संस्कृतिप्रेमी युवा वीरेन्द्रभक्त गजु श्रेष्ठको इच्छाअनुसार जिब्रो छेड्ने जात्राले भक्तपुर नगरपालिकामा अवस्थित दत्तात्रय र नवदुर्गाको दर्शन गरी भक्तपुर नगर परिक्रमा गरेको हो । मध्यपुरथिमिमा दुई वटा जिब्रो छेड्ने जात्रा प्रचलनमा रहेको छ । पहिलो बिस्काः जात्राको अवसरमा प्रत्येक वर्ष वैशाख २ गते बोदेमा हुने जिब्रो छेड्ने जात्रा र दोस्रो इन्द्रजात्राको भोलिपल्ट अर्थात आश्विन शुक्ल पूर्णिमाको दिन मनाइने ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’ ।
दुवै जात्राको आ–आफ्नै विशेषता रहेको छ । बोदेको जिब्रो छेड्ने जात्रामा एक जनाले मात्र जिब्रो छेडाउने प्रचलन रहेको छ भने यो जात्रा परिक्रमा गरिने निश्चित प्रदिक्षामार्ग (रुट) रहेको हुन्छ । तर थिमिको ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’मा जिब्रो छेडाउने व्यक्ति एक जना भन्दा धेरै पनि हुनसक्छ । यो जात्रामा जिब्रो छेडाउन इच्छ््याएको व्यक्ति धेरै भएमा एकजना भन्दा बढीले पनि जिब्रो छेडाउन पाइन्छ । यो जात्राको अर्को विशेषता भनेको जात्राको कुनै निश्चित प्रदक्षिणामार्ग अर्थात रुट नहुनु हो । यो जात्रामा जिब्रो छेडाएका व्यक्तिको इच्छाअनुसारको रुटमा परिक्रमा गराइन्छ । सोही अनुसार गतवर्ष पनि जिब्रो छेडाएका वीरेन्द्रभक्तले काठमाडौँको पशुपतिनाथको दर्शन गरेका थिए भने यसवर्ष भक्तपुरको दत्तात्रय र नवदुर्गाको दर्शन गरी भक्तपुर नगर परिक्रमा गरेको हो ।
साँझ सुरु हुने जात्राको लागि मध्यपुरथिमिमा दिउँसोदेखि चहलपहल बढ्दै गएको थियो । जात्रा सञ्चालनका लागि एक महिना अघि नै कमिनायोले करिब एक फिट लामो सुइरो निर्माण गरी शुद्ध तोरीको तेलमा डुबाएर राखेका थिए । यसैगरी राजदरबारको प्रतिनिधिको रुपमा काठमाडौँको हनुमानढोका दरबारबाट राज खड्गसमेत ल्याइएको थियो । जात्राकै लागि थिमिको सिवा साय्मी खलःले याँमता तयार गरेका थिए । जात्राको लागि दिगुलीको प्रचण्ड भैरव अघिको डवलीमा मञ्च तयार गरिएको थियो । जात्रा सुरु गर्न एक समूहले थिमि लाय्कुको पमानायो श्यामकाजी श्रेष्ठलाई परम्परागत पोसाकमा हनुमानढोका दरबारबाट ल्याएको राज खड्गसहित लिएर आए । यही बेला जिब्रो छेडाउन तयार भएका वीरेन्द्रभक्त परम्परागत पोसाकमा सहयोगी समूहको साथमा मध्यपुरथिमि नगरभित्रका देवीदेवतालाई बत्ती दिन गइरहेका थिए ।
बत्ती दिने कार्य सकिएपछि वीरेन्द्रभक्तलाई दिगुलीस्थित डवलीको मञ्चमा ल्याई पु्याएर वीरेन्द्रभक्त मञ्चमा चढेपछि उपस्थित सर्वसाधारणले जयजयकार गरे । मञ्चमा पुगेर वीरेन्द्रभक्तले सबैलाई दुई हात जोडेर नमस्कार गरे। वीरेन्द्रभक्त मञ्चमा पुगेपछि जिब्रो छेड्ने सुइरो र कमिनायो भने आइपुगेको थिएन। केही बेरको प्रतिक्षापछि निगालोको चिम्ता बजाउँदै एक समूहले सुइरो लिएर आए। त्यसको पनि केही समयपछि मात्र कमिनायो बाबुकाजी कमी श्रेष्ठलाई दिगुलीको डबलीमा ल्याई पु-याए। त्यसपछि वीरेन्द्रभक्तलाई छोएर बाबुकाजीले वरिपरी अक्षता फूल छर्किएर देवीदेवता पुकारे । एक महिना अगाडि बनाएको एक फिट लामो तीन मुख भएको सुइरोले बाबुकाजीले साँझ ८ बजेर ४० मिनेटको समयमा वीरेन्द्रभक्तको जिब्रो छेडिदिए ।
कमिनायोले सुइरोलाई वीरेन्द्रभक्तले टाउकोमा बाँधेको बेतलीमा अड्काइ दिए। त्यसपछि वीरेन्द्रभक्तले दुई हात जोडेर उपस्थित सर्वसाधारणलाई नमस्कार गर्दै मञ्चमा तीन फन्को लगाए । उपस्थित सबैले पनि वीरेन्द्रभक्तको जयजयकार गर्दै दिगु भैरवको पनि जयजयकार गरे। त्यसपछि दिउँसै तयार गरिराखेको काठ र बाँसले निर्माण गरिएको अर्धचन्द्राकारको महादीप ‘भ्ये’ काँधमा बोकेर वीरेन्द्रभक्त नगरपरिक्रमा गर्न निस्किए । वीरेन्द्रभक्त भन्दा अघि साय्मी समुदायले तयार गरिराखेको त्रिशूल आकारको याँमता लगिएको थियो । हजारौँ स्थानीय पनि वीरेन्द्रभक्तको जयजयकार गर्दै ‘ताकुँ म्येः ख्वामसिसें भ्वय् नय्’ भन्दै नगर परिक्रमा गर्न निस्किए ।
वीरेन्द्रभक्तले दिगु भैरव मन्दिर अगाडि जिब्रो छेडेर महादीप काँधमा बोकी दिगु भैरवको परिक्रमा गरे । त्यसपछि निगु पुखुः, लाय्कू हुँदै जात्राको परम्परा अनुसार क्वालाखु (बालकुमारी)स्थित थास्मा गणेशको दर्शन गरे । जात्राको परम्परा अनुसार जसले जिब्रो छेडाए सबैभन्दा पहिला आफ्नो इष्ट गणेशको दर्शन गर्नुपर्दछ । सोही अनुसार वीरेन्द्रभक्तले थास्मा गणेशको दर्शन गरेका हुन् । त्यसपछि बालकुमारी, शङ्खधरचोक, दक्षिण बाराही, सल्लाघारी, चोङ्गा गणेश, सिद्धपोखरी, नःपुखु हुँदैँ राति करिब ११ बजे वीरेन्द्रभक्त हजारौँं श्रद्धालुका साथ भक्तपुर दरबार स्क्वायर पुगेका थिए । चोङ्गा गणेश स्थान पुग्दा स्थानीयले नेवारी परम्परा अनुसार दही सगुन दिएर स्वागत गरेका थिए । भक्तपुरको दूधपाटीमा भक्तपुर नगरपालिका–९ का वडाअध्यक्ष रवीन्द्र ज्याख्वले नगरपालिकाको तर्फबाट स्वागत गरेका थिए ।
दरबारस्क्वारमा हजारौँ भक्तपुर नगरवासी वीरेन्द्रभक्तको प्रतिक्षामा थिए। वीरेन्द्रभक्त दरबारस्क्वायर पुगेपछि सबैले तालीको गडगडाहट र कलकल ध्वनीले स्वागत गर्नुका साथै जयजयकार गरेका थिए। वीरेन्द्रभक्तलाई हेर्न बाटोमा लस्करै स्थानीय बसेका थिए। भक्तपुर दरवारस्क्वायरबाट सुकुलढोका हुँदैँ राति ११.३० बजे वीरेन्द्रभक्त दत्तात्रय मन्दिर पुगे। दत्तात्रय मन्दिरलाई तीन पटक परिक्रमा गरी उनी भक्तपुरको नवदुर्गा द्योछें पुगे। त्यहाँ नवदुर्गाको दर्शन गरी पुनः दत्तात्रय, सुकुलढोका हुँदैँ उहाँ टौमढीस्थित पाँचतल्ले मन्दिर र भैरवनाथको दर्शनका लागि पुगे।
टौमढीबाट बंशगोपाल, सिद्धिपोखरी, चोङ्गा गणेश, निकोशेरा, नगरपालिका चोक, पाटी बिहार, गुङचिवाः, भीमसेन चोक, गणेश मावि, नगदेश, गार्चा चोक, सिद्धिकाली चोक, सिद्धिकाली मन्दिर, भूलाँखेल, चोडे, निगुपुखु हुँदैं आज बिहान करिब ३ बजे बालकुमारीमा पुगेर जात्रा सम्पन्न भएको थियो ।
बालकुमारी परिसरमा थिमि लाय्कूका पमानायो श्यामकाजी श्रेष्ठ र पमा सूर्यलाल श्रेष्ठ वीरेन्द्रभक्तलाई पर्खेर बसेका थिए। पमानायोले वीरेन्द्रभक्तको जिब्रोबाट सुइरो निकालेर बालकुमारी मन्दिरभित्रको काठमा ठोकी दिए र वीरेन्द्रभक्तको जिब्रोमा नित्यनाथको माटो राखेपछि जात्रा सम्पन्न भयो। वीरेन्द्रभक्तले जिब्रो छेडाएको यो चौंँथो पटक हो। उनले पहिलो पटक २०७४ सालमा जिब्रो छेडाएका हुन्। करिब लोप हुने अवस्थामा पुगेको यो जात्रालाई जिवन्तता दिन त्यतिखेर उनी जिब्रो छेडाउन तयार भएका हुन् ।
उनले दोस्रो पटक २०७९ मा जिब्रो छेडाएका थिए भने तेस्रो पटक गत वर्ष जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका हुन् ।





























प्रतिक्रिया