बाँके
माला लगाएका छन् । पहेंलो कपडा टाउकोमा बेरेका छन् । हेर्दा नै तान्त्रिक जस्ता । औंठी र त्यसको पत्थरसँगै भगवानको साना मूर्ति पनि बोकेका छन् ।
नेपालगन्जमा डुलिरहेका भारतीय ३ जना जादुगरी व्यक्तिको भेट प्रहरी जवान सुरेन्द्र चन्दसँग भयो । भिक्षा माग्ने हिसाबले उनीहरू रोकिए । प्रहरी जवानले १० रूपैयाँ निकालेर दिए । ३ जना मध्ये दिल्लीका दीपक महावतले समाते । बाराबंकीका पवन र सुपली महावतसँगै रहेका दीपकले प्रहरी जवानलाई उनले दिएको १० रूपैयाँ मुठीमा कस्सेर समात्न लगाए । चन्दले उनले भनेको जसरी १० रूपियाँमा मुठीमा कस्सेर समाते । त्यसपछि चन्दलाई छातीमा हात राख्न लगाए । त्यो पनि गरे र छातीमै हात राखेर तिमीलाई मर्ने देवताको नाम लिउ भने । चन्दले भगवान ‘शिव’ को नाम लिए । त्यसपछि मुठी खोल्न लगाए । मुठी खोल्दा त १० रूपियाँ होइन, हातमा सानो शिवको मूर्ति थियो । प्रहरी जवान अचम्ममा परे । त्यसपछि दीपकले भने – ‘तिमीले घरमा शिवको ठूलो मूर्ति राखेर आजीवन पूजा गर्नु ।’
यति भनेर ३ जना आफ्नो बाटो लागे । प्रहरी जवान चन्दको आँखा हातको औंलामा पर्यो । औंलामा त सुनको औंठी नै थिएन । दौडिएर ती व्यक्तिलाई खोज्न निस्के । अलिकति टाढा पुगेका ३ जना भारतीयलाई चन्दले समाते । अलिअलि कुटे । अनि जिल्ला प्रहरी कार्यालय पुर्याए ।
जिप्रकामा भारतीयले नाटक नै गरे । हामीले लगेकै छैनौं भन्दै दीपक रोए । प्रहरी जवान चन्दले पनि ढाँटेको जस्तो देखिएन । प्रहरी अनुसन्धान अधिकृत छक्क परेका छन् । ‘भारतीयले लगेको छैनौं भन्छन् । चन्दले यिनीहरूले लगेका छन् भन्छन् । दुवैलाई राखेर छलफल गराउँदै छौं’ –मुद्दाफाँटका इन्चार्ज रणबहादुर विष्टले भने । चन्दका अनुसार ९ हजार ७ सयमा किनेको सुनको औंठी उनीहरूले गायब बनाइदिएका छन् । दुवै पक्षलाई जिप्रकामा राखेर अबेला सम्म छलफल गराइएको छ ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया