ललितपुर
नेपालको पहिलो आठ लेन सडकका रुपमा रहेको कोटेश्वर–कलङ्की सडकको निर्माण अन्तिम चरणमा पुगेको छ ।
सडक निर्माणको काम ९७ प्रतिशत सकिएको काठमाडौँ चक्रपथ सुधार योजनाका इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताए । १० दशमलव ४ किलोमिटर लामो यो सडक निर्माणको काम चिनियाँ सरकारको सहयोगमा चिनियाँ निर्माण कम्पनी सङ्घाई कन्सट्रक्सन ग्रुपले गरिरहेको छ । चिनियाँ निर्माण कम्पनीसँग समन्वयको काम योजनाले गरिरहेको छ । तोकिएकै समय अर्थात आगामी डिसेम्बरमा काम सक्ने गरेर चिनिँया कम्पनी लागिरहेको इञ्जिनीयर अर्यालले जानकारी दिए ।
निर्माणाधीन यो सडकमा आठ लेनसँगै ‘अण्डर पास’ (भूमिगत सडक) समेत बन्दैछ जुन नेपालको पहिलो हो । कलङ्की देखि कोटेश्वर सम्मको सडकमा आंशिक बाहेक अधिकांश काम सकिएको छ । इञ्जिनीयर अर्याल भन्छन् , “मुख्यतः अहिले अन्तिम चरणको काम भइरहेको छ र थोरै निर्माणको काम पनि बाँकी छ ।” काम सकिएपछि चिनियाँ कम्पनीले सरकारलाई सडक हस्तान्तरण गर्नेछ ।
बल्खुमा १ दशमलव ४ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी रहेको इञ्जिनियर अर्यालले बताए । कोटेश्वर देखि बल्खुसम्म नै एक तह कालोपत्रे गर्न बाँकी छ । सडकमा फुटपाथ, ट्राफिक सङ्केतहरु र पेन्टिङको काम बाँकी छ । निर्माण कम्पनीले यो सडकले वर्षात सहन सक्छ या सक्दैन भन्ने समेत नियालिरहेको छ ।
कलङ्कीको सवारी चाप हटाउने उपायका रुपमा लिइएको ‘अण्डर पास’ को काम सकिएको छ । कलङ्की देखि खसीबजार सम्मको ८०० मिटरमा अण्डर पास निर्माण भएको हो । आठ लेन सडक मध्ये चार लेन मुख्य सडक र चार लेन अण्डर पास छ । अण्डर पास सञ्चालनको तयारी गरिएको छ । उनले भने, “दुई/चार दिनमा नै अण्डर पास सञ्चालनमा आउनेछ ।”
चार वर्ष पहिले ४० महिनामा निर्माण सम्पन्न गर्ने गरेर सम्झौता भएको थियो । भूकम्प र नाकाबन्दीले काममा भएको ढिलाइले एक वर्ष अवधि थप भयो । गत जुलाई सम्म काम सक्ने योजना ग्रुपले गरेको थियो तर सो अवधिमा काम सम्पन्न भएन र सरकारले आगामी डिसेम्बर सम्मको अवधि थप ग¥यो । उनले भने, “अब भने डिसेम्बर सम्ममा पूरा हुनेछ ।”
रासस































प्रतिक्रिया