मकवानपुर
प्रतिबन्धित लागुऔषध गाँजा १ सय १३ किलो सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले गाँजा सहित ट्रकका चालक विष्णुभक्त श्रेष्ठलाई आईतबार पक्राउ गरेको हो ।
चितवनको शक्तिखोरबाट गाँजा लोड गरी बाराको जितपुर गईरहेको ना ४ ख २९३ नम्बरको कन्टेनर ट्रक र त्यसका चालक विष्णुभक्त श्रेष्ठलाई मकवानपुरको मनहरिबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालयको क्षेत्रीय अनुसन्धान समुहबाट प्रहरी निरीक्षक रोशन थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले ट्रक र चालकलाई पक्राउ गरेको हो ।
ट्रकमा गाँजा ल्याईरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले चितवनको राप्ती नगरपालिका ४ का ४१ बर्षीय श्रेष्ठलाई पक्राउ गरेको हो । ट्रकको पछाडीको भागमा ६ वटा प्लास्टिकको बोरामा राखी लुकाई ल्याएको ३५ वटा प्याकेटमा गरी १ सय १३ किलो गाँजा बरामद गरिएको प्रहरीले दाबी गरेको छ ।
गाँजा र ट्रकसहित श्रेष्ठलाई आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय मनहरिमा बुझाईएको छ । गाँजाको मुख्य खरिद र बिक्री गर्ने व्यक्तिहरुको भने खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।
नागरिकबाट





























प्रतिक्रिया