काठमाडौं
तत्कालिन गोरखा परिषदका महामन्त्री भरत शमशेर राणाको निधन भएको छ । ९० वर्षको उमेरमा भारतको कलकत्तामा राणाको शनिबार विहान निधन भएको उनका भतिज तथा पूर्व प्रधानसेनापती गौरव शमशेर राणाले बताए ।
२०१५ सालको आम निर्वाचन पछि नेपाली कांग्रेस पहिलो पार्टी बनेको थियो भने गोरखा परिषद सदनमा प्रतिपक्षी दलको रुपमा थियो । राणा प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा पहिलो संसदमा थिए । राणा क्यान्सरबाट पीडित थिए । उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् । राणाको शव उनकै इच्छा अनुसार अस्पताललाई प्रदान गरिने जनाइएको छ । उनी राणा प्रधानमन्त्री चन्द्र शमशेरका पनाति र शिक्षाविद मृगेन्द्र शमशेर राणाका छोरा हुन् ।
काँग्रेस सभापति शेरबहादुर देउवाले एक शोक विज्ञप्ति मार्फत पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं राजनीतिक परिवर्तनका वाहक राणाको निधनले मर्माहत र स्तब्ध बनाएको उल्लेख गरेका छन् । सभापति देउवाले लोकतन्त्र र गणतन्त्र स्थापनाको आन्दोलनमा स्व राणाले पु¥याएको योगदान इतिहासमा सदा स्मरणीय रहिरहने उल्लेख गर्दै उनको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको जनाएका छन् । सभापति देउवाले स्व राणाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उनको आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजन प्रति समवेदना प्रकट गरे ।





























प्रतिक्रिया