‘अब हुने साधारणसभा पछिको नयाँ नेतृत्वमा गुटबन्दी हुनु हुन्न’ : भवानी राणा, अध्यक्ष (भिडियाे/अन्तर्वार्ता)

‘अब हुने साधारणसभा पछिको नयाँ नेतृत्वमा गुटबन्दी हुनु हुन्न’ : भवानी राणा, अध्यक्ष (भिडियाे/अन्तर्वार्ता)

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासंघको महाधिवेसन यहि मंसिर ११ देखि १३ गते सम्म काठमाडौंमा हुँदैछ । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष भएको व्यक्ति स्वतः अध्यक्ष बन्ने व्यवस्था भए अनुरुप हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्दै छन् । त्यस्तै आगामी कार्यकालको लागि वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचन हुनेछ । जसमा हालका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र किशोर प्रधानको उम्मेदवारी परेको छ । दुवै उम्मेदवारले निर्वाचनका लागि तयारी गरिरहेको अवस्थामा महासंघकी अध्यक्ष भवानी राणाले भने दुवैलाई मिलाएर लैजाने प्रयास भइरहेको बताउदै आएकी छिन् । कोभिडबाट व्यवसायीक क्षेत्रमा असर परेको परिस्थितिमा सरकारसँग समन्वय गरेर अगाडि बढ्न सक्ने व्यक्ति र समूह नै महासंघको नेतृत्वमा आउनुपर्नेमा समेत अध्यक्ष राणाले जोड दिएकी छिन् । यस्तै महासंघ भित्रको राजनीति र गुटलाई अन्त्य गर्ने गरी कम्तिमा पनि वरिष्ठ उपाध्यक्ष पदमा सहमतिको आधारमा उम्मेदवारी दिने कुरामा आफूले छलफल अगाडि बढाएको बताइन् । महासंघको महाधिवेसन र चुनावको विषयमा केन्द्रीत रहेर अध्यक्ष राणासँग गरिएको कुराकानी :

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको रुपमा उत्तरार्धमा हुनुहुन्छ । कस्तो रह्यो कार्यकाल ?

मेरो कार्यकाल कोभिडले गर्दा केही लम्बिएको पनि छ । मेरो कार्यकालमा थुप्रै नयाँ योजनाहरु नयाँ कार्यक्रमहरु गर्यौं । महासंघलाई राष्ट्रिय तहमा र अन्तर्राष्ट्रिय तहमा बलियो बनाउन कार्यक्रमहरु गर्नका लागि थुप्रै किसिमका क्रियाकलापहरु भएका छन् । देश विदेशका भ्रमणहरु पनि यो पालि वर्षमै दुई तीनपटक भएको छ । जस्तै प्रधानमन्त्रीसँग, राष्ट्रपतिसँग बाहिर गएर हामीले अन्तर्क्रिया गर्ने मौका पायौं । भारत, चीन, युरोपमा गएर पनि नेपालमा व्यवसाय गर्नको लागि राम्रो वतावरण छ भनेर जानकारी गराउने मौका पनि पायौं ।

तपाईंले आफ्नो कार्यकालमा आत्मसन्तुष्टि हुने खालको कुनै काम भएको महसुस गर्नुभएको छ ?

मेरो कार्यकालमा जुन निरन्तर हुने कार्यहरु हुन्छन् , नीतिगत रुपमा सुझावहरु दिने र व्यवसाय गर्ने वातावरण निर्माण गर्नका लागि पहल गर्ने किसिमको कुरामा अगाडि बढ्यौं । मेरो कार्यकालमा नेपाल प्रादेशिक रुपमा अर्थात् संघियतामा गएकोले गर्दा हामीले सातवटै प्रदेशका सरकारसँग पनि समन्वय गर्नुपर्छ भनेर सातवटा प्रदेशको मुख्यमन्त्रीहरुसँग पनि हामीले सम्झौता गर्यौं । उद्योग वाणिज्य महासंघको पनि सात वटै प्रदेशमा शाखा कार्यालय पनि खोल्यौं । महासंघको प्रदेश शाखामार्फत त्यस क्षेत्रको आर्थिक गतिविधि बढाउनको लागि विभिन्न निकायहरुसँग समन्वय गर्ने कामहरु पनि अगाडि बढायौं ।

महासंघले गर्नै पर्ने तर समय अनुकुल नमिलेर गर्न नसकिएका कामहरु केही बाँकी छन् ?

उद्योग वाणिज्य महासंघमा नेतृत्व लिएपछि कुनैपनि काम सकिंदैन । निरन्तर अगाडि बढ्ने कामहरु छन् । व्यवसायिक हक हितको लागि, व्यवसाय गर्ने वातावरण बनाउनको लागि, स्वदेशी लगानीलाई कसरी विस्तार गर्ने, वैदेशिक लगानी कसरी भित्र्याउने भन्ने कुरा निरन्तर रुपमा हुने काम हो । अवको नेतृत्वले पनि त्यो गर्नुहुन्छ । अब नेपाल सरकारबाट लगानी सम्मेलनको पनि आयोजना भएको थियो जहाँ महासंघ पनि आवद्ध भएको थियो । नेपाल सरकारको यस्ता थुप्रै किसिमका कार्यक्रमहरु विभिन्न मन्त्रालयहरुसँग जस्तै उद्योग वाणिज्य मन्त्रालय, श्रम मन्त्रालयसँग मिलेर सामाजिक सुरक्षाका कुराहरु यसैपटक अगाडि बढ्यो र नयाँ ढंगले सरकारले गरेको कार्यहरुमा महासंघले पनि हातेमाले गरेर अगाडि बढ्यो । सँगसँगै थुप्रै नीतिहरु जुन परिमार्जन गर्नुपर्ने थियो लगानीको वातावरण बनाउनको लागि त्यो कुरामा पनि हामीले नेपाल सरकारलाई थुप्रै सुझावहरु दियौं । अहिले अन्तिममा आउँदा कोभिडले गर्दा विश्वलाई नै शिथिल पारेको र नेपाल सानो अर्थतन्त्र भएकोले हामीमा थुप्रै चुनौतिहरु पनि छन् । बजेट ल्याउँदा हामीले सुझावहरु पनि दियौं । खासगरी मौद्रिक नीतिमा हामीले तीनवटा कुरा उठाएका थियौं । ब्याजदर घटाउनु पर्ने, पुनर्तालिकिकरण गर्नुपर्ने, रिफाइनान्स गर्नुपर्ने कुराहरु भएको छ । तर अझ पर्याप्त छैन । अझ यसलाई निरन्तरता दिनुपर्छ र त्यसका लागि अव आउने नेतृत्वले पहल गर्नुहुन्छ । म पनि निवर्तमान अध्यक्षको हिसाबले पनि महासंघमा हुन्छु र सहयोग गर्छु ।

कोभिड–१९ को कारणले विश्वभरको अर्थतन्त्रमा असर परेको छ । अब अर्थतन्त्रको पुनर्उत्थानका लागि निजी क्षेत्र र सरकारले गर्नुपर्ने कुराहरु के के देख्नु भएको छ ?

निजी क्षेत्रले गर्नुपर्ने कुराहरुमा केभिड शुरु हुने वित्तीकै सरकारसँग सहकार्य गरेर हामीले काम गरिरहेका थियौं र यस्तो बेलामा आपूर्ति सहज गर्नको लागि जिल्ला जिल्लाका उद्योग वाणिज्य संघहरुलाई क्रियाशिल बनाएर उपभोक्तालाई आपूर्ति सहज होस् भनेर खाद्यान्नका कुराहरु, अति आवश्यक वस्तुका कुराहरु र त्यसमा अति अप्ठेरो अवस्थामा पनि निजी क्षेत्रले सहयोग गरेको र आफ्नो उद्योगहरुलाई निरन्तरता दिन नाफा भन्दापनि उद्योग धन्दा बन्द नहोस् त्यहाँ रोजगारी नगुमोस भन्ने कुरामा ध्यान केन्द्रीत छ । त्यसकारण त्यसको लागि निजी क्षेत्र मात्र होइन सरकारले पनि सहयोग गर्नुपर्छ ।

यसमा अल्पकालिन, मध्यमकालिन र दीर्घकालिन योजना बनाएर काम गर्न सकिदैन ?

अल्पकालका लागि हामीले मौद्रिक नीतिमार्फत गयौं, त्यो पुग्दैन । किनभने अहिले पनि कोभिडको असर निरन्तर भइरहेको छ । अहिले बन्द खुलेको छ तरपनि जति सहज रुपमा उद्योगहरु चल्नुपर्ने हो नचलेको अवस्था छ । यस्तो अवस्थामा अल्पकालिन, मध्यमकालिन र दीर्घकालिन योजना बनाएर अगाडि बढ्नुपर्छ र लगानी विस्तार गर्नुपर्छ । ठूलो ठूलो आयोजनाहरु जुन जलविद्युत उर्जा क्षेत्रको कुरा अगाडि बढेको छ, राष्ट्रिय स्तरका ठूला आयोजनाहरु छन् त्यसलाई छिट्टै सिध्याउने हिसाबमा नेपाल सरकार पनि जानुपर्ने हुन्छ । अहिले बजारमा पूँजीको कमी छ त्यसले गर्दा नेपाल सरकारबाट गर्नुपर्ने खर्चलाई पनि समयमा गर्न सक्यो भने बजारमा पूँजीको अभाव हुँदैन । सबैभन्दा ठूलो समस्या भनेको उधारो नै उठिरहेको छैन । त्यसले गर्दा उद्योग व्यवसायलाई एकदमै अप्ठेरो परेको अवस्था छ । सरकारले मौद्रिक नीतिमार्फत गर्नुपर्ने पुनर्कर्जाका कुराहरुमा साना मझौला व्यवसायलाई राम्रो नीति लिएर आएको छ तर कार्यान्वयन पक्षमा कताकता अझै पनि राम्रोसँग हुन नसकेको अवस्था छ । अहिले गभर्नरले ल्याउनु भएको कुराहरुलाई हामीले स्वागत पनि गरेका छौं । त्यसलाई अझ दीर्घकालिन योजना बनाउनुपर्ने समय आएको छ । सरकारले बाहिरबाट लगानी भित्र्याउनु पर्ने कुराहरु, पूँजी पनि भित्र्याउनु प¥यो । त्यस्ता कुराहरुलाई ध्यान दिनुपर्छ जस्तो लाग्छ र निजी क्षेत्रले गर्नुपर्ने सहयोग त सरकारलाई गरिनै रहेको छ ।

उद्योग वाणिज्य महासंघमा अध्यक्षको चुनाव नभई वरिष्ठ उपाध्यक्षको चुनाव हुने गर्छ । यो चुनावलाई कसरी हेरिरहनु भएको छ ?

म महासंघमा भएको झण्डै १५ वर्ष भइसक्यो । पहिला पहिला अध्यक्षकै निर्वाचन हुन्थ्यो । म पनि उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष भएर नै अध्यक्षमा पुगे । पछिल्लो समयमा महासंघमा धेरै राजनीति भयो त्यसकारण अध्यक्ष भन्दा पनि वरिष्ठ उपाध्यक्षको निर्वाचन गरौं र वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष भइसकेपछि अलिकति राजनीति कम हुन्छ र काम गर्न सकिन्छ भन्ने हो । किनभने उद्योग वाणिज्य महासंघ भनेको सरकार पछिको ठूलो सञ्जाल भएको संस्था हो । यो राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पनि छ । वरिष्ठ भएर आइसकेपछि उसले भोलि अध्यक्ष बन्छु भनेर महासंघको संस्थागत रुपमा गर्नुपर्ने कामदेखि लिएर सरकारसँग गर्नुपर्ने कामहरुका कुराहरुलाई सहज ढंगबाट गरोस् । ऊ राजनीतिमा नमिसियोस र भोलि आउने दिनमा फेरि निर्वाचन हुँदा राजनीतिको कारण वरिष्ठ भइसकेको व्यक्ति निर्वाचित नहुन सक्छ अर्को नयाँ मान्छे आउन सक्छ त्यसकारणले वरिष्ठ भएकोलाई अध्यक्ष बनेर काम गर्ने प्रक्रिया सुरु गरेका थियौं । यो सुरु गर्दा कति राम्रा पक्षहरु पनि छन् , कति ठाउँमा निर्वाचन अध्यक्षकै हुनुपर्छ अझ राजनीति भयो भन्ने कुराहरु पनि आइरहेको छ । त्यसले गर्दा मलाई लाग्छ यो साधारणसभाले वा जिल्ला, वस्तुगत, र एसोसिएट्सका सदस्यहरुले जे चाहनुहुन्छ त्यही हुन्छ । विधान भन्ने कुरा त समय अनुसार र सदस्यहरुको सुझाव अनुसार परिवर्तन भइराख्ने कुरा हो ।

संस्थाको अभिभावकिय भूमिकामा हुनुहुन्छ । निर्वाचन आफैमा पनि प्रजातन्त्रिक प्रक्रिया हो । चुनावको समय छ । दुवै उम्मेद्वार आर्शिवाद लिन आउनु भएको होला । के आर्शिवाद दिनुभएको छ ?

निर्वाचन आफैमा प्रजातन्त्रिक प्रक्रिया हो र हुनु पनि पर्छ । किनभने प्रतिस्पर्धामा गएर अगाडि बढ्यो भने राम्रो पनि हुन्छ र कतिपय समयमा मेलमिलाप गरेर पनि अगाडि बढ्नुपर्छ । जस्तै उद्योग वाणिज्य महासंघको इतिहासमा पनि थुप्रै अध्यक्षहरु हुनुहुन्छ जसलाई एकपछि अर्को गरेर मिलाएर लगेका छौं । उद्योग वाणिज्य महासंघमा पुग्दा हामी पनि आफ्नो समयलाई योगदान गरेर, आफ्नो हरेक आर्थिक गतिविधि र सामाजिक काम छोडेर उद्योग वाणिज्य महासंघलाई शतप्रतिशत दिएको हुन्छौं । त्यही भनेर नै त्यहाँ नेतृत्वहरु आएका हुन्छन् । अहिले पनि निर्वाचन प्रजातान्त्रिक ढंगबाट हुनुपर्छ भन्दा भन्दै पनि मिल्ने पक्षमा जानुपर्छ भन्ने कुरामा म पनि व्यक्तिगत रुपमा सोच्छु । किनभने अहिले कोभिडको बेला पनि छ ।

अहिले एक अर्कालाई निर्वाचन गरेर हिड्नु भन्दा पनि मेलमिलाप गरेर अगाडि बढ्यो भने ठिक हुन्छ । दुईवटा पक्ष जुन हुनुहुन्छ एउटा वरिष्ठ उपाध्यक्षमा उठनु भएको किशोर प्रधान हुनुहुन्छ जो लामो समयदेखि महासंघमा बस्नुभएको छ । उहाँको पनि अनुभवहरु छ । उहाँ उद्योग वाणिज्य महासंघलाई चाहिने व्यक्ति पनि हो । अर्कोतर्फ चन्द्रप्रसाद ढकाल हुनुहुन्छ । उहाँ पनि महासंघलाई चाहिने व्यक्ति हो । त्यसकारण दुवै जनालाई मिलाएर एकपछि अर्को गर्न सक्यो भने उहाँहरुको लागि पनि र महासंघको लागि पनि एकजनालाई गुमाउनु भनेको पनि महासंघले एउटा असल उद्यमी जसले उद्योग व्यवसायको लागि लड्न सक्छ, उद्योग व्यवसायलाई अझ अगाडि बढाउन सक्छ र नेपाल सरकारसँग समन्वय गरेर काम गर्न सक्छ । होइन भने महासंघलाई अगाडि बढाउने शक्ति गुमाउँछ । त्यसले गर्दा दुवै जनालाई मिलाएर सहमतिको वातावरण बनाएर अगाडि बढ्न सक्यो भने राम्रो हुन्छ ।

तपाईं अध्यक्षको रुपमा के कस्तो पहल गर्नुहुन्छ ?

अध्यक्षको रुपमा मैले दुवै जनालाई एउटा सशक्त उम्मेदवारको रुपमा देख्छु । दुई जना नै महासंघमा अटनुपर्छ भन्ने मेरो व्यक्तिगत विचार छ । मलाई लाग्छ महासंघले पनि त्यो धारणा लिएर अगाडि बढ्नुपर्छ र उहाँहरुसँग सहमतिको लागि कुरा भइरहेको छ । अव निर्वाचनको समय पनि आयो । तिहार सिद्धिएको अवस्था छ । छठपछि एकचोटी दुई जनालाई राखेर कुरा गरेर सहमतिको वातावरण बनाउँछु भन्ने मैले सोचेको छु । त्यो प्रयास नेतृत्वमा पुगेको व्यक्तिले गर्नु पनि पर्छ ।

दुवै उम्मेदवारको सवल पक्षहरु के के देख्नु भएको छ ?

दुवै जनाको पक्ष हेर्दा दुवैको आ–आफ्नो किसिमको सक्षमता छ । एकजना लामो समयसम्म उद्योग वाणिज्य महासंघमा बस्नु भएको र जिल्ला नगरमा दुईपटक उपाध्यक्षको पदमा कार्य गरिसक्नु भएको छ । उहाँको अनुभव र मेरो कार्यकालमा पनि दुईपटक उपाध्यक्ष भएर कार्यपनि गर्नुभयो । चन्द्रप्रसाद ढकालमा पनि आफ्नै किसिमको महत्व छ । उहाँले पनि मेरो कार्यकालमा उपाध्यक्षको रुपमा एसोसिएट तर्फबाट रोजगारदाता परिषद्को सभापति भएर काम गर्नुभएको छ । त्यसकारण उहाँहरुको आफ्नै किसिमको क्षमता, आफ्नै किसिमको योग्यता र आफ्नै किसिमको इमान्दारिता छ र दुवै जनाले महासंघको नेतृत्वमा पुगेर म गर्छु भनेर आफ्नो आफ्नो धारणाहरु लेखिसक्नु भएको छ । नेतृत्वमा पुगेपछि गर्ने भनेको महासंघको हकहितको लागि हो, व्यवसायीहरुको हक हितको लागि हो र सरकारसँग सहकार्य गरेर देश विकासको लागि आर्थिक विकासको लागि काम गर्ने हो । दुवै जनालाई सहमति गरेर अगाडि बढ्नको लागि मेरो प्रयास रहनेछ ।

हामीले बुझ्दा दुवै उम्मेदवारले यहाँबाट बराबरी शुभेक्षा पाएका छन् ?

मैले उहाँहरु दुवै जनालाई शुभकामना दिएको छु । दुवै जनालाई अहिलेसम्म पनि एक पछि अर्को गरेर मिल्नको लागि आउनुस् भनेर आव्हान पनि गरेको छु । त्यसैले गर्दा दुवै पक्षले महासंघको हितको लागि त्याग गर्न सक्नुपर्यो । त्यसकारणले एक जनालाई पनि नगुमाउन चाहन्छौं एकपछि अर्को गरेर गर्नको लागि मेरो फेरि एकचोटी अन्तिम प्रयास रहनेछ ।

आशावादी रहने ठाउँ कत्तिको छ ?

मलाई लाग्छ अन्तिम सम्म पनि किन हामी निराश हुने । आशावादी हुने ठाउँहरु अझ पनि छन् । एकपटक बसेर कुरा गर्नुपर्छ ।

सामाजिक सञ्जाल र मिडियामा पनि तपाईंमाथि केही प्रश्नहरु उठाइएका छन् । उम्मेदवारी घोषणा गर्दा तपाईं एक उम्मेदवारको कार्यक्रममा गइदिनुभयो । नगइदिएको भए अझै राम्रो हुन्थ्यो की ?

दुवै जनाको घोषणा सभामा म गएको छैन । उहाँहरुलाई मिलाउने प्रयासमा म अहिले पनि लागिरहेको छु । मेरो काम गर्दाको अनुभव किशोर प्रधानजी सँग र चन्द्र ढकालजी सँग पनि कुरा गरें र ढकालजी पनि महासंघमा चाहिने व्यक्ति हो । त्यसले गर्दा नेतृत्वको रुपमा मिलाउनको लागि मैले सहमतिको प्रयास गरिरहेकै छु ।

एकातर्फ कोभिडले देशको आर्थिक क्षेत्रमा क्षति पुर्याएको अवस्था छ भने अर्को तर्फ महासंघमा राजनीति हुँदा काम गर्न झनै गाह्रो भएको होला । के भन्नुहुन्छ ?

कुनै पनि संघसंस्थामा राजनीति त हुन्छ नै । अव उद्योग वाणिज्य महासंघ भनेको एउटा इतिहास बोकेको संघ हो । महासंघमा जिल्लानगरका, वस्तुगतका र एसोसिएटका सदस्यहरु हुनुहुन्छ । त्यसैले त्यहाँभित्र केही न केही राजनीति हुन्छ तरपनि निर्वाचन पश्चात यो गुटवन्दी बन्द गर्नुपर्छ र म महासंघमा हुँदादेखि नै एउटा नेतृत्वको रुपमा, उपाध्यक्षको रुपमा अगाडि बढेदेखि नै मिलाएर लैजानुपर्छ भन्ने मेरो प्रयास सधै भइरहेको छ । त्यसकारणले अव आउने नेतृत्वहरुले पनि यसलाई अगाडि बढाउनुहुन्छ भन्नेमा म अलिकति विश्वास राख्छु । अवश्य नै कोभिडले गर्दा आउने दिनहरु चुनौतिपूर्ण नै छ । त्यसकारणले सबैलाई मिलाएर सबैलाई साथ लिएर नै अगाडि बढ्नुपर्छ । किनभने म नेतृत्वमा बस्दा मैले गर्दा मात्रै कार्यहरु सफल भएको भन्दिन मेरो टिमले गर्दा भएको हो । मेरो वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, मेरा केन्द्रीय साथिहरुले आ–आफ्नो क्षेत्रमा सभापति भएर काम गर्नुभयो, उपाध्यक्षहरुले आ–आफ्नो भूमिका निभाउनुभयो त्यसले गर्दाखेरी यो कार्यकाललाई सफल बनाउनको लागि उहाँहरुले जुन किसिमको सहयोग गर्नुभएको छ । त्यसकारण टिमवर्कमा नै म विश्वास गर्छु । अब आउने नेतृत्वले पनि टिमलाई नै सँगै लिएर अगाडी बढ्नुहुन्छ होला ।

नेपाल उद्योग वाणिज्य महासंघप्रति जो आवद्ध भएर लाग्नु भएको छ उहाँहरुलाई साधारण सभाको विषयमा केही आव्हान गर्न चाहनुहुन्छ ?

अवश्य नै अहिले पनि म हरेक उपाध्यक्षहरु देखि लिएर सदस्यहरु, पूर्व अध्यक्षहरु पनि लागिराख्नु भएको छ । सकेसम्म एउटा, दुईवटा पदमा सहमति हुन सक्यो भने खासगरी वरिष्ठ पदमा हुन सक्यो भने राम्रो हुन्छ की भन्ने कुराहरुको पक्षमा मलाई लाग्छ । आफ्नो आफ्नो तहबाट थुप्रै प्रयास भइरहेको छ । कतिले निर्वाचन नै हुनुपर्छ भन्ने पनि चाहेको होलान र कतिले प्रयास पनि गरिरहेका छन् । अव हुने साधारणसभा पछिको नयाँ नेतृत्वमा गुटवन्दी हुनु हुन्न भन्ने छ । मलाई लाग्छ मेरो कार्यकालमा पनि खासै गुटवन्दी थिएन । हामी काममा केन्द्रीत भएर अगाडि बढेका थियौं । निर्वाचन पश्चात जसले नेतृत्व लिनुहुन्छ उहाँले टिमलाई मिलाएर अगाडि बढ्नुपर्छ भन्ने मेरो धारणा छ र बढ्नुहुन्छ भन्ने पनि विश्वास छ ।

Logo