सिसडोलबासी आन्दोलित : मंसिर २० गतेसम्म माग पुरा नभए फोहोर फाल्न नदिने चेतावनी

सिसडोलबासी आन्दोलित : मंसिर २० गतेसम्म माग पुरा नभए फोहोर फाल्न नदिने चेतावनी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विभिन्न १८ बुँदे माग राख्दै सिसडोलबासी आन्दोलित भएका छन् । वैज्ञानिक ढंगबाट फोहोरमैला व्यवस्थापन गर्नुपर्ने, मानव स्वास्थ्यको पूर्ण ग्यारेण्टीसहित जीवन बीमा गर्नुपर्ने, विकास निर्माणका काम जनताले भने अनुसार तत्काल सुरुवात गर्नुपर्ने उनीहरुको माग छ । जग्गा अधिग्रहण राजनीतिक दलका सिमित व्यक्तिको आधारमा प्रभावित क्षेत्र भित्र हुनुको औचित्य पुष्टि गर्नुपर्ने, रोनाष्टको आधारमा प्रभावित क्षेत्र घोषणा हुनुपर्ने स्थानीयको माग छ । स्थानीय दिनेश कार्कीले बञ्चरे डाँडामा ल्याण्डफिल साइड फोहोर फाल्न तयारी अवस्थामा रहेपनि आफ्ना मागहरु पुरा नभएसम्म फाल्न नदिने बताए । जनताको न्यूनतम मागहरु समेत पुरा नगरी फोहोर फाल्ने तयारी भएपछि आफूहरु आन्दोलित भएको उनको भनाई छ ।

यातायात, शिक्षा, स्वास्थ्य, पशुबीमा, बालीबीमाको तत्काल व्यवस्था गर्नुपर्ने, विकास निर्माणका लागि १६ वर्षदेखि विनियोजन भएको रकमको हिसाबकिताब गर्नुपर्ने, ८० शैयाको अस्पताल तत्काल निर्माण गर्नुपर्ने माग उनीहरुको छ । वातावरणलाई विगतमा जस्तै प्राकृतिक ढंगमा कायम गर्नुपर्ने र फोहोरको प्रभावबाट मानिस, पशुपंक्षी, बोटबिरुवा सुरक्षित हुने ग्यारेण्टी गर्नुपर्ने स्थानीयहरुले माग राखेका छन् । अर्का स्थानीय रामचन्द्र ढुंगानाले जनताले अहिलेसम्म काठमाडौंको फोहोर मात्रै खाएको बताए । स्थानीयहरुको व्यवस्थापन नहुँदासम्म फोहोर फाल्न नदिने उनको भनाई छ ।

स्थानीयले फोहोरबाट निस्कने लिचड पदार्थको उचित व्यवस्थापन हुनुपर्ने पनि बताएका छन् । मंसिर २० गतेसम्म आफ्ना माग पुरा गर्न अल्टिमेटम दिँदै स्थानीयहरुले मानव बसोबासरहित फोहोरमैला व्यवस्थापन गर्दै जग्गा अधिग्रहण गर्नुपर्ने पनि बताएका छन् । फोहोरमैला व्यवस्थापन भएको ठाउँमा विस्फोट नहुने ग्यारेण्टी गनुपर्ने उनीहरुको माग छ ।

ककनी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष घनश्याम बजगाईले फोहोरमा राजनीतिक नगर्न आग्रह गरे । काठमाडौं महानगरले आफूहरुमाथि मानविय व्यवहार नगरेको भन्दै उनले आक्रोश समेत व्यक्त गरे ।

बागमती प्रदेशका सांसद बद्री मैनालीले बस्ती भएको ठाउँमा फोहोर फाल्ने निर्णय नै गलत भएको बताए । फोहोर र मान्छे एकै ठाउँमा बस्न नसक्ने भएकाले यसको उचित व्यवस्थापन गर्नुपर्ने उनको भनाई छ ।

लामो समयदेखि काठमाडौं उपत्यकाको फोहार सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । पछिल्लो समय सिसडोल क्षेत्र भरिएपछि बञ्चरेडाँडामा व्यवस्थापन गर्ने गरिएको छ । स्थानीयको स्वास्थ्यमा गम्भिर असर पर्ने गरी फोहोर व्यवस्थापन गर्ने गरिएको भन्दै स्थानीयले लामो समयदेखि समस्या समाधानका लागि आवाज उठाउँदै आएका छन् ।

Logo