नेपालकाे दूरसञ्चार क्षेत्रमा क्रान्ति ल्याउने एनसेलको २० वर्ष

नेपालकाे दूरसञ्चार क्षेत्रमा क्रान्ति ल्याउने एनसेलको २० वर्ष

केन्द्रबिन्दु
9
Shares

काठमाडाैं । नेपालको दूरसञ्चार क्षेत्रमा निजी क्षेत्रको नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको एनसेलले आफ्नो स्थापनाको २० वर्ष पूरा गरेको छ । सन् २००४ मा ‘मेरो मोबाइल’ नामबाट दर्ता भई सन् २००५ सेप्टेम्बर १७ देखि सेवा सुरु गरेको यस कम्पनीले दुई दशकको अवधिमा देशको सञ्चार क्षेत्रमा ठूलो प्रभाव पारेको छ।

एनसेलले नेपाली बजारमा प्रवेश गर्दा मात्र ६ प्रतिशत जनसंख्यासँग मोबाइल सिमकार्ड थियो, तर आज दुई दशककाे यात्रामा एनसेलले १ करोड ४० लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।

एनसेलको स्थापना सन् २००४ मा ‘मेरो मोबाइल’ नामक कम्पनीको रूपमा भएको थियो । चार वर्षपछि, स्वीडेनको टेलियासोनेरा ग्रुप अर्थात‍् (अहिले टेलिया कम्पनी)ले यसलाई अधिग्रहण ग-यो र सन् २००१० मा ‘एनसेल’ ब्रान्डमा पुनः ब्रान्डिङ गरियो । यो परिवर्तनले कम्पनीलाई अन्तर्राष्ट्रिय स्तरको प्रविधि र दक्षता प्राप्त गरायो ।

यस्तै, सन् २०१६ अप्रिल १२ मा एनसेल आजियाटा ग्रुप बर्हाडको हिस्सा बन्यो, जसले यसलाई सार्वजनिक लिमिटेड कम्पनीमा रूपान्तरण ग-यो । सन् २०२० अगस्ट ३ मा यसको नाम ‘एनसेल आजियाटा लिमिटेड’ मा परिवर्तन भयो र सन् २०२३ डिसेम्बर १ मा स्पेक्ट्रलाइट युके लिमिटेडले आजियाटा ग्रुप बर्हाडको आजियाटा युकेबाट रेनोल्ड्स होल्डिंग्स लिमिटेडको १०० प्रतिशत शेयर अधिग्रहण ग-यो । रेनोल्ड्सको एनसेलमा लगभग ८० प्रतिशत इक्विटी हिस्सा रहेको छ, जसले कम्पनीको स्थिरता र विस्तारलाई थप बल पु-याएको छ । यो यात्राले एनसेललाई नेपालको दूरसञ्चार क्षेत्रको प्रमुख खेलाडी बनाएको छ, जसले सधैं नवप्रवर्तन र विस्तारलाई प्राथमिकता दिएको छ ।

एनसेलले जीएसएम, इडिजीई, थ्रिजी–एचएसपीए प्लस र डिसी–एचएसडीपिए जस्ता प्रविधिहरू प्रयोग गर्दै सेवाहरू सञ्चालन गर्द आएको छ । सन् २०१० मा एनसेलले ३जी सेवाको सुरुवातले नेपाली उपभोक्ताहरूलाई उच्च गतिको डेटा र बफरिङ–रहित भिडियो स्ट्रिमिङको पहुँच प्रदान ग-यो । सन् २०१७ मा ४जी सेवाको लन्चले एनसेललाई थप मजबुत बनायो, जसले ग्राहकहरूलाई आधुनिक उच्च गतिको मोबाइल डेटासँग जोडेर प्रविधिका अवसरहरू उपलब्ध गरायो ।

आज, एनसेलको ४जी कभरेज देशभर ९५ प्रतिशतभन्दा बढी रहेको छ, जसले नेपालको डिजिटल रूपान्तरणमा महत्वपूर्ण योगदान पु-याएको छ । विगत दुई दशकमा ई–वाणिज्य, टेलिमेडिसिन, इन्टरनेट/मोबाइल बैंकिङ र सूचना प्रविधिका क्षेत्रमा एनसेलको भूमिका अतुलनीय रहेको छ ।

एनसेलको सफलताको मुख्य आधार यसको ग्राहक–केन्द्रित दृष्टिकोण हो । सन् २००५ मा बजार प्रवेश गर्दा सीमित पहुँच भएको बजारलाई यसले विस्तार गर्दै ल्यायो । आज, १ करोड ४० लाखभन्दा बढी ग्राहकहरूले एनसेलको सेवाको लाभ लिइरहेका छन् । कम्पनीले उच्च गुणस्तरीय सेवाहरू प्रदान गर्दै नेपालको समग्र विकासमा योगदान दिइरहेको छ ।

नेपालको अर्थतन्त्रमा एनसेल सबैभन्दा ठूलो योगदानकर्तामध्ये एक हो । आर्थिक वर्ष २०२४/२५ सम्म यसले नेपाल सरकारलाई ३६० अर्ब रुपैयाँभन्दा बढी कर र शुल्क तिरिसकेको छ । सन् २०१६ मा शेयर होल्डिङ परिवर्तनको सन्दर्भमा ४७ अर्ब रुपैयाँ पूँजीगत लाभकर तिरेर यसले उदाहरणीय जिम्मेवारी प्रदर्शन गरेको छ । रोजगारी सिर्जनामा पनि एनसेलको योगदान उल्लेखनीय रहेको छ । एनसेलले प्रत्यक्ष र अप्रत्यक्ष गरी देशभरि करिव १ लाख मानिसलाई काम दिईरहेको छ, जसले स्थानीय अर्थतन्त्रलाई पनि बलियो बनाएको छ ।

एनसेलले सामाजिक दायित्वलाई पनि प्राथमिकता दिँदै विभिन्न सीएसआर र दिगोपन परियोजनाहरूमा २.५ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको छ । यसले स्वास्थ्य, शिक्षा र वातावरण जस्ता क्षेत्रमा केन्द्रित हुँदै दिगो विकास लक्ष्यहरू प्राप्त गर्न सरकारलाई सहयोग गर्दै आएको छ । केही प्रमुख मेगा परियोजनाहरूमा रिङ रोड ग्रीन बेल्ट, टेलिमेडिसिन र निजीकृत स्वास्थ्य कार्यक्रमहरू समावेश छन्, जसले सेवाबाट वञ्चित समुदायहरूलाई पहुँच प्रदान गर्छन् । साथै, देशभरका ६० सरकारी र समुदायद्वारा सञ्चालित विद्यालयहरूमा उच्च–प्रविधि डिजिटल आइटी ल्याबहरू स्थापना गरिएका छन् ।

कोभिड–१९ महामारीको समयमा एनसेलले सरकार र उपभोक्ताहरूलाई पूर्ण सहयोग गरेको थियो, जसको लागि यसले विश्व सञ्चार पुरस्कार २०२१ जस्ता स्थानीय तथा अन्तर्राष्ट्रिय सम्मानहरू प्राप्त गरेको छ ।

एनसेल २० वर्षको अवधिमा पाएका अवार्डहरु-

एनबीआई बिजनेस रेजिलेन्स पुरस्कार -२०२४

नेपालकै सबैभन्दा छिटो मोबाइल नेटवर्क -२०२२

एसियाली दूरसञ्चार पुरस्कार -२०२२

उत्कृष्ट रोजगारदाता ब्रान्ड पुरस्कार -२०२२

टीएम फोरम उत्प्रेरक पुरस्कार -२०२१

विश्व सञ्चार पुरस्कार -२०२१

एसियाको सर्वश्रेष्ठ रोजगारदाता ब्रान्ड पुरस्कार -२०२१

एशियाली–ओसियनियन कम्प्युटिङ उद्योग संगठन (एएसओसीआईओ) पुरस्कार -२०२१

विश्व सूचना प्रविधि र सेवा गठबन्धन (डब्ल्यूआईटीएसए) ग्लोबल आईसीटी उत्कृष्टता पुरस्कार -२०२१

राष्ट्रिय मानव संसाधन उत्कृष्टता पुरस्कार -२०२३, २०२४

डा. ऋषि राम शर्मा विपद् प्रतिक्रिया तथा तयारी पुरस्कार

ग्लोबल मोबाइल पुरस्कार (जीएलओएमओ पुरस्कार) -२०१६

नेपालको दूरसञ्चार बजारमा हाल दुई प्रमुख खेलाडीहरू एनसेल र नेपाल टेलिकम मात्र बाँकी रहेका छन् । ओटीटी–आइएलडी सेवाहरूको बढ्दो प्रभाव र डेटा सेवाको कम योगदानका कारण राजस्वमा निरन्तर गिरावट आइरहेको छ । विगत ५ वर्षमा राजस्व २५ प्रतिशतले घटेको छ, जबकी छिमेकी देशहरू जस्तै बंगलादेश र श्रीलंकामा ४० प्रतिशत वृद्धि भएको छ ।

नेपालको प्रतिग्राहक प्रति महिना डेटा प्रयाेग २०२४ मा केवल ६ जीबी मात्र रहेको छ, जबकी भारतमा यो २० जीबी छ । सरकारको राज्य–स्वामित्वका अपरेटरहरूलाई समर्थन गर्ने नीतिले समान खेल मैदानको अभाव छ । बजार आकार पनि १०० अर्ब रुपैयाँबाट घटेर ७५ अर्बभन्दा तल झरेको छ । नियामक निर्देशनहरूमा बारम्बार परिवर्तनका कारण विगत ६ वर्षमा १३ अर्ब रुपैयाँ राजस्व प्रभावित भएको छ । सोही कारण युनाइटेड टेलिकम, स्मार्ट टेलिकम जस्ता कम्पनीहरू नीतिगत कठिनाइका कारण पहिल्यै नै बाहिरिसकेका छन् ।

डेटा माग बढ्दै गएपनि मूल्य घट्दै जाँदा लगानी र मुद्रास्फीतिको अनुरूप सेवा शुल्क समीक्षा गर्ने प्रावधान छैन । दूरसञ्चार कम्पनीहरूले आम्दानीको ५० प्रतिशतभन्दा बढी कर र शुल्क तिर्छन्, जसले नेपाललाई भारी कर लाग्ने बजार बनाएको छ । प्रत्येक ५ वर्षमा २० अर्ब रुपैयाँ जीएसएम लाइसेन्स नवीकरण शुल्क तिर्नुपर्ने व्यवस्थाले दिगोपनमा प्रश्न उठाएको छ ।

राजस्व घट्दै जाँदा, कम्पनीहरूले नाफाको २ देखि ३ गुणा पूँजीगत खर्च गर्दै नेटवर्क कायम राख्छन् । भविष्यमा ५जी जस्ता प्रविधिका लागि ६० अर्ब रुपैयाँ आवश्यक पर्छ, जुन नाफाभन्दा १२ गुणा बढी रकम हो । आगामी ५ वर्षमा राजस्व १६ अर्बले घट्ने अनुमान छ, जसले सरकारलाई ३.७ अर्ब रुपैयाँ गुमाउने बनाउँछ । वार्षिक ११ अर्बका दायित्व पूरा गर्न चुनौतीपूर्ण छ र लगानी कटौतीले उपभोक्ता अनुभव र उद्योग दिगोपनमा असर पार्नेछ ।

दूरसञ्चार ऐन सन् १९९७ को संशोधन नहुनु, लिलामीमार्फत स्पेक्ट्रम शुल्कको भारी बोझ र स्मार्टफोन/ओटीटी अपननले गिरावट तीव्र बनाएको छ । अन्तर्राष्ट्रिय लगानीकर्ताहरू जस्तै टेलियासोनेरा र एक्जियाटाले प्रतिकूल परिस्थितिका कारण चुनौती सामना गरिरहेका छन् । सरकारको १० वर्षे लक्ष्य ३ ट्रिलियन रुपैयाँ आईटी निर्यात र १५ लाख आईटी कार्यबल बिना दूरसञ्चार क्षेत्रको समर्थन असम्भव छ ।

एनसेलले नेपालको दूरसञ्चार क्षेत्रलाई परिवर्तन गर्दै आर्थिक, सामाजिक र प्राविधिक विकासमा महत्वपूर्ण भूमिका खेलेको छ । यसका उपलब्धिहरू र चुनौतीहरू दुवैले देखाउँछन् कि स्वस्थ नियामक वातावरण, समान नीति र लगानी–मैत्री दृष्टिकोण आवश्यक छ । एनसेल जस्ता निजी क्षेत्रका संस्थाहरूको समर्थनले मात्र नेपाल डिजिटल अर्थतन्त्रतर्फ अघि बढ्न सक्छ । भविष्यमा ५जी र थप नवप्रवर्तनहरूले नयाँ अवसरहरू खोल्नेछन्, तर यसका लागि साझा सहकार्य अपरिहार्य देखिन्छ ।

Skip This
Skip This
Logo