काठमाडौँ । आन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले जेन जी आन्दोलनका क्रममा भएको विध्वंसात्मक क्रियाकलापको गम्भिर अनुसन्धान गरी कानुनी दायरामा ल्याउने बताएका छन् ।
आज प्रहरी प्रधान कार्यालयमा पुगेर देशभरका युनिट प्रमुखहरूलाई भर्चुअल ब्रिफिङ गर्दै अर्यालले विध्वंसात्मक क्रियाकलापमा संलग्न लाई कानुनी रुपमा गम्भिर अनुसन्धान गरी कानुनी दायरामा ल्याउने बताएका हुन् ।
विध्वंसात्मक क्रियाकलापमा संलग्नहरुको छानबिन र अनुसन्धान जाँचबुझ आयोग गठन भएपछि हुने र आयोगको निष्कर्ष अन्तिम हुने अर्यालले बताए । उनले भने– ‘जेनजीले गरेको सुरुवात भ्रष्टाचार विरुद्ध थियो, हिंसात्मक गर्ने थिएन ।’
देशभरका करिब ३ सय युनिटका इन्चार्जहरूलाई निर्देशन दिँदै गृहमन्त्री अर्यालले प्रदर्शनमा घुसपैठ भएको बताए । उनले भने– ‘आन्दोलन कुशासन र भ्रष्टाचारको विरुद्धमा थियो तर, त्यसमा स्वार्थ पुरा गर्ने उद्देश्यले घुसपैठ भएको कुरा सामाजिक सञ्जालमा आएका भिडियो र क्रियाकलापले पुष्टि गरेको देखिन्छ ।’
आन्दोलन अवधिमा प्रहरीको संरचनामा गम्भीर प्रहार भएको उल्लेख गर्दै अर्यालले प्रहरीले प्रदर्शन गरेको संयमताको उच्च प्रशंसा गरे ।
प्रदर्शनमा अकल्पनीय क्षति हुनसक्ने पूर्व सूचना किन आएन भनेर गृहमन्त्रीले प्रहरी अधिकृतहरूलाई प्रश्न गरेका छन् । उनले भने– ‘हामीले गम्भीर रूपमा सोच्नुपर्ने अवस्था छ, पूर्व सूचना किन पाइएन? पूर्वसूचनाको कमीले अकल्पनीय क्षति भयो ।’
प्रहरीको अनुपस्थिति र कमजोर उपस्थितिले समाजमा अराजकता मैलाउने अवस्था आउन सक्ने उनले बताए । उनले भने– ‘कर्तव्य पालना कानुन बमोजिम गर्नुभएको छ, त्यतिबेलाको अवस्थालाई लिएर मनोबल गिराउनुपर्ने वा भय लिनुपर्ने अवस्था छैन ।’ भदौ २३ र २४ मा भएको प्रदर्शनमा आधिकारिक निकायले कमजोरी औँल्याएमा सुधार गर्नुपर्ने गृहमन्त्री अर्यालको भनाई छ ।































प्रतिक्रिया