‘नयाँ पुस्ताको चाहनाअनुसार देश विकास हुनेछ’ -खिलराज रेग्मी

‘नयाँ पुस्ताको चाहनाअनुसार देश विकास हुनेछ’ -खिलराज रेग्मी

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले आगामी दिनमा देशमा समुन्नत लोकतन्त्र उन्मुख संवैधानिक अभ्यास विकास भई नेपालीको चाहना र आकाङ्क्षाले नयाँ मार्गचित्र तय गर्ने विश्वास व्यक्त गरेका छन्।

एघारौँ संविधान दिवसका उपलक्ष्यमा आज समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै उनले तोकिएको समयमा निर्वाचन सम्पन्न भई अत्यधिक नयाँ पुस्ता र नयाँ वातावरणले ओतप्रोत भएको संसद् निर्माण गर्नुपर्नेमा जोड दिएका हुन् । वर्तमान सरकार भ्रष्टाचार र अनियमितता गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउँदै भ्रष्टाचारमुक्त सुशासन र नागरिकमा नयाँ आशा जागेको उनको भनाइ छ ।

आज संविधान जारी भएको १० वर्ष अर्थात् एक दशक पूरा भएको छ । तर संविधानले परिकल्पना गरेको र नेपाली समाजले अपेक्षा गरेको भ्रष्टाचारमुक्त शासन, रोजगारी, शिक्षा, स्वास्थ्य र समृद्धिका कुरा गौण हुन पुग्दा र अन्य अनपेक्षित कुरा र घटनाले बढावा पाउँदा जनतामा निराशा र आक्रोश व्याप्त हुँदै गएको उनको भनाइ छ । “जेनजी अर्थात् नयाँपुस्ता बढी नै निराश र आक्रोशित बन्यो, गत भदौ २३ र २४ को घटना नेपालको इतिहासमा नयाँ प्रकृतिको जेनजी आन्दोलनको नयाँ रूप थियो, यो एउटा विशिष्ट प्रकृतिको ‘टर्निङ प्वाइन्ट’ रह्यो”, उनले भनेका छन‍् ।

इतिहासदेखि नै नेपाल र नेपालीको पहिचानका रूपमा रहेका महत्त्वपूर्ण राष्ट्रिय सम्पत्ति, सम्पदा र धरोहरहरूमा नोक्सानी पुग्नु निकै दुःखद् विषय भएको उनले बताएका छन् । अध्यक्ष रेग्मीले सरकारले घटनामा भएको जनधनको क्षतिको निष्पक्ष छानबिन र दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउनेछ भन्ने सबैको अपेक्षा र विश्वास पनि व्यक्त गरेका छन् ।

Skip This
Skip This
Logo