काठमाडौँ। समयमै मृगौला रोगको पहिचान गरे ९० प्रतिशत बचाउन सकिने एक अध्ययनले देखाएको छ । वीर अस्पतालमा पछिल्लो ५०० जना मिर्गौला बिग्रेर निकालिएका बिरामीहरु माथि गरिएको अध्ययनले ९० प्रतिशत मृगौलाका बिरामीले समयमै उपचार गरेको भए बचाउन सकिने देखिएको हो ।
उक्त अध्ययन सोही अस्पतालले गरेको थियो । अस्पतालका युरोसर्जरी विभाग प्रमुख कन्सल्ट्यान्ट प्राडा रबिनबहादुर बस्नेतले ५०० जनामा ४७० जनाको मिर्गौला समयमा नै उपचार गरेको भएमा बचाउन सकिने अध्ययनमा देखिएको जानकारी दिएका छन् ।
तीमध्ये ३० जनाको मात्र मृगौला जोगाउन नसकिने अवस्थाको रहेको उनले बताए । ती जोगाउन सकिने मृगौला जनचेतनाको कमीले नियमित जाँच नगर्दा जोगाउन नसकिएको उनको भनाई छ । डा. बस्नेतका अनुसार धेरैजसो मृगौलाका बिरामी पत्थरीका कारण हुने गरेका छन् । ५०० जनामा गरिएको अध्ययनमा ६५ प्रतिशत बिरामीमा पत्थरीको कारण मृगौला बिग्रिएको देखिएको छ । त्यसैगरी १५ प्रतिशत जन्मजात मिर्गौलाका बिरामी, १० प्रतिशतमा मिर्गौलाको क्यान्सर र चार प्रतिशतमा अन्य सङ्क्रमणले मृगौला बिग्रने गरेको अध्ययनले पुष्टि गरेको छ ।
पत्थरीले पिसाब आउने बाटो बन्द गरिदिन्छ र पिसाब थैलीमा पिसाब नआए मिर्गौला फुल्लिँदा मृगौला बिग्रने गर्दछ । यसरी एउटा मृगौला फुल्लिए पनि अर्को मृगौलाले काम गर्ने हुँदा बिरामीले मृगौला फुल्लिएको थाहा पाउँदैनन, जसले गर्दा अर्को मृगौला बिग्रने चिकित्सकहरुको भनाइ छ ।
जन्मजात मृगौलाको पिसाब थैलीमा जाने मुख बन्द भए पनि मानिसको २० देखि ३० वर्षको बीचमा मृगौला बिग्रने प्राडा बस्नेतले बताए। संसारमा एकदेखि चार प्रतिशत मानिसको एउटा मात्र मृगौला हुने गर्दछ ।
पानी कम खानाले, मधुमेहका बिरामी, मद्यपानका कारण मिर्गौला बिग्रने गर्दछ । ‘पेनकिलर’ औषधि (आइबुप्रोफेन, निमेसुलाइड) आफूखुसी खाँदा पनि मिर्गौला बिग्रने गर्दछ ।
वीर अस्पतालमा मिर्गौला बिग्रेका ५०० जनामध्ये २२० जना पहिलोपटक अस्पताल आएको प्रमुख कन्सल्ट्यान्ट प्राडा बस्नेतले जानकारी दिए । अध्ययनअनुसार पुरुषको तुलनामा महिलाको बढी मृगौला बिग्रने समस्या देखिएको छ । उनका अनुसार पुरुषको तुलनामा महिलामा डेढ गुणा बढी मिर्गौला बिग्रने गरेको छ ।
मृगौला बचाउनका लागि जीवनशैलीमा परिवर्तन गर्नुपर्ने बताए। पानी दिनमा तीन लिटर पिउने, मोटोपन घटाउने, फलफूल प्रशस्त खाने, नियमित मृगौलाको जाँच गर्ने गर्नुपर्ने डा बस्नेतको भनाई छ ।





























प्रतिक्रिया