ललितपुरको प्रसिद्ध नागदह विगत केही वर्ष यता प्रदुषणको चपेटामा परेको छ । स्थानीयस्तरमा दहको पानीमा खुल्लारुपमा लुगाधुने र नुहाउने क्रम वढ्दै गएका कारण यो दह प्रदुषणको चपेटामा परेको हो ।
धार्मिक र पर्यटकीय दृष्टिकोणबाट महत्वपुर्ण यस दहमा फोहोरहरु मिसिंदा पनि स्थानीयस्तरबाट सरसफाईमा कुनै पनि चासो दिईएको देखिदैन । दहको वरिपरि विभिन्न किसिमका झारपातहरु उभ्रिएको भए पनि झारपातहरु हटाउन तिर पनि कसैको ध्यान जान नसक्दा दह अझ वढि फोहोर भएको देखिन्छ । टाढाबाट हेर्दा दह निकै नै आर्कषक देखिने कारणले हिजो आज यहाँ पर्यटकहरुको संख्या वढ्न गएपनि यहाँ पुग्दा उनीहरु नाक खुम्च्याउन बाध्य हुन्छन् ।
वरिपरि पानीको धाराहरु सुक्न थालेपछि दहमा लुगा धुन र नुहाउन बाध्य हुनु परेको स्थानीय बताउँछन् । पानीको वैकल्पिक उपाय नहुँदा दह फोहोर भएर पनि सोचेजस्तो तरिकाले सफा गर्न नसकिएको त्यहाँ रहेको नागदह संरक्षण तथा सुधार समितीले जनाएको छ । ‘टोल वरिपरिका धाराहरुमा राम्रो सँग पानी आउन छोडेको एकदशक जति भयो । थोरै मात्रामा आउने पानीले खानलाई नै पुग्दैन । त्यसैले दहको पानी प्रयोग गर्नु परेको हो ।’ समितीका सदस्य साजन गिरी भन्छन् – “दहको संरक्षण र सफाईमा समितीको प्रयास जारी छ । केहि समयमै हामी यसको टुङ्गो लगाउँछौं ।” दहमा भएको झारपातलाई भने सिजन आएपछि आफैं कुहिने भएका कारण खासै ध्यान दिनु नपर्ने उनले बताए ।
यहाँ दैनिक पचासदेखि साठी जनाको हाराहारीमा लुगा धुने र नुहाउने मानिसहरुको भीड लाग्ने गरेको छ । दह घुम्न आउने पर्यटकहरुको संख्या ५ सय भन्दा बढी छ । दहको उचित संरक्षण र सरसफाई नगरिए यहाँ आउनेहरुको संख्या घट्न सक्ने आगन्तुकहरु बताउँछन् ।
ललितपुर जिल्लाको लगनखेलबाट करिब ७ कि.मि. दक्षिणपूर्वमा अवस्थित साविकको धापाखेल गाविस – ८ मा रहेको यस नागदहमा १० वर्ष अगाडिदेखि पर्यटकहरुका लागि आवश्यक होटल, लज, तथा पिकनिकको लागि पिकनिक स्पटहरुको व्यवस्था गरिएको छ । केही वर्ष अगाडि देखि यहाँ आउने आगन्तुकहरुका लागि आर्कषण गर्न दहमा डुङ्गा पनि संचालन गरिएको थियो । यसले यहाँ आउनेहरुको संख्यामा वृद्धि गरेको भए पनि ०६८ सालको वैशाख महिनामा यहाँ जन्ती आएका थानकोटका ४ जना जन्तीको डुङ्गा डुबेर मृत्यु भएको थियो । यसपछि डुङ्गा व्यवसायलाई अहिले प्रतिबन्ध लगाईएको छ ।
राजधानीको कोलाहलयुक्त वातावरणबाट मुक्ति पाउनका लागि हिजोआज नागदह धेरैजसोको रोजाइको गन्तव्य बन्दै गएको भए पनि दह प्रदुषण हुंदै गएपछि आगन्तुकहरुको संख्या पनि घट्न पुगेको केही स्थानीय वासिन्दाहरु स्विकार गर्छन् । अग्लो ठाउँमा रहेको र राजधानीको दृष्य अवलोकन गर्न सकिने भएका कारण पनि नागदहको निकै नै महत्व रहेको र यसलाई संरक्षण एवं सफा राख्न आवश्यक रहेको धेरैको भनाई छ ।
बिदाको दिन पिकनिक आउनेहरुको संख्या यहाँ धेरै नै हुने गरेको छ । नागदहको पानी यहाँका कृषकहरुले खेतबारीमा प्रयोग गरि खेतीपाती पनि गर्दै आएका छन् । समिती मार्फत यहाँ माछापालन पनि गरिएको छ । माछाको बेचविखनबाट राम्रै आम्दानी हुने गरेको सदस्य गिरिले बताए । दहबाट फाईदा लिने काम गर्ने र यसको सरसफाईमा भने कम मात्रै चासो दिने प्रवित्तीले यो दह प्रदुर्षण भएको धेरैको अनुमान छ । धार्मिक मान्यताले पनि धेरै नै महत्वपुर्ण रहेको यस ठाउँको किंवदन्तीका बारेमा भने आफुलाई खासै जानकारी नभएको र विषेश गरि नागपञ्चमीमा यहाँ आउनेहरुको संख्या धेरै नै हुने गरेको साजन बताउँछन् ।
पर्यटकहरुको संख्यामा वृद्धि गराउन यहाँ केहि कुराहरुमा सुधार गर्न आवश्यक रहेको नागदह पुग्नेहरुले गुनासो गरे । पछिल्ला दिनहरुमा दहको पानीमा स्थानीयवासीहरुले लुगा धुने र नुहाउने गर्दा वढ्दै गएको फोहोर प्रति सुधार समितीले चासो दिन आवश्यक छ । पानीमा उम्रिएको जलकुम्भि, कमलको फुल तथा अन्य झारपातले दहको कतिपय भाग पुरिंदै गएको प्रति पनि सफाई गर्नु पर्ने देखिएको छ । यति मात्र होईन, करिब ४० फिट गहिरो दहमा कतै पनि तारबारहरु नलगाईंदा बालबच्चाहरु खसेर डुब्न सक्ने तथा अन्य दुर्घटना हुनसक्ने खतरा बढेको छ । यस विषयमा समितिले सोचविचार गर्न आवश्यक रहेको त्यहाँ पुगेका युवा प्रदिप घिमिरेको भनाई छ ।
यस्ता विषयहरु प्रति संरक्षण समितीले केहि मात्रामा प्रयास गरेको पनि देखिन्छ । ठाउँ–ठाउँमा समिती मार्फत ‘सकिन्छ सफा गरौं सकिदैंन फोहोर नगरौं, सभ्य नागरिकको परिचय दिऊँ’ जस्ता नाराहरु लेखिएका बोर्डहरु पनि राखिएका छन् । तर समितीको प्रयास कम भएको स्पष्ट छ ।
यो विषयमा आफ्नो केहि कमजोरी रहेको समितीले पनि स्विकार गरेको छ । केही समय भित्रै नागदहका समस्याहरुलाई समाधान गर्न र यसलाई अझ व्यवस्थित गर्न समिती प्रयासरत रहेको सदस्य गिरिले बताए । यसका लागि स्थानियस्तरको प्रयास जति गरेपनि कम हुने हुनाले आफूहरु माथिल्लो निकायमा गएरै भएपनि यहाँ आउने पर्यटकहरुलाई गुनासो रहित बनाउन लागि परेको उनले जानकारी गराएका छन् ।
शब्द/तस्विर: ज्ञानमणि नेपाल कालोटोपी































प्रतिक्रिया