एजेन्सी,काठमाडौं । म्यान्मारको मध्य भागमा आयोजित एउटा धार्मिक पर्व र विरोध प्रदर्शनमा प्यारामोटरबाट भएको आक्रमणमा कम्तीमा २४ जनाको मृत्यु भएको छ । ४७ जना घाइते भएको निर्वासित राष्ट्रिय एकता सरकारका प्रवक्ताले बीबीसी बर्मिजलाई जानकारी दिएका छन् ।
जुन्टा सरकार विरोधी पिपुल्स डिफेन्स फोर्सअन्तर्गतका एक स्थानीय अधिकारीका अनुसार, सोमबार साँझ करिब १०० जना मानिस बौद्ध धर्मावलम्बीहरूको राष्ट्रिय बिदा थडिन्ग्युत पर्व मनाउन चाउङ यू टाउनसिपमा भेला भएका बेला यो आक्रमण भएको थियो । त्यही समयमा मोटरयुक्त प्याराग्लाइडरले भीडमाथि दुईवटा बम खसालेको थियो । यो कार्यक्रम जुन्टा नीतिको विरोधमा आयोजित मैनबत्ती र्याली पनि थियो । सन् २०२१ मा सेनाले कू मार्फत सत्ता कब्जा गरेदेखि म्यान्मार गृहयुद्धको चपेटामा छ ।
संयुक्त राष्ट्रसंघका अनुसार, यस द्वन्द्वमा हालसम्म पाँच हजारभन्दा बढी सर्वसाधारण मारिएको अनुमान छ । पिपुल्स डिफेन्स फोर्सका अधिकारीले बीबीसी बर्मिजलाई बताएअनुसार, सोमबारको भेलाको क्रममा उनीहरूले हवाई आक्रमणको सम्भावित सूचना पाएका थिए । छिट्टै आफ्नो विरोध प्रदर्शन अन्त्य गर्ने प्रयास गरे पनि प्यारामोटरहरू उनीहरूले अपेक्षा गरेभन्दा चाँडै घटनास्थलमा पुगेको थियो ।
“उनीहरू आइपुगे र सात मिनेटभित्रै बम खसाले,” उनले भने । “पहिलो बम खस्दा म जमिनमा ढलेँ, तर त्यसले मेरो घुँडाको तल्लो भागमा चोट पुर्यायो । मेरो छेउमै मानिसहरू मरेका थिए ।”स्थानीयहरूले बीबीसी बर्मिजलाई बताएअनुसार सोमबारको बमले पुर्याएको विनाशका कारण मृतकको पहिचान गर्न समेत कठिन भएको थियो ।
कार्यक्रम आयोजना गर्न सहयोग गर्ने अर्की एक महिलाले एएफपीलाई भनिन्, “बालबालिकाहरू क्षतविक्षत भएका थिए ।” उनी घटनास्थलमा थिइनन्, तर मंगलबार अन्त्येष्टिमा सहभागी भएकी थिइन् । अहिले पनि जमिनबाट शरीरका अंगहरू संकलन गरिरहेको बताइन् । एमनेस्टी इन्टरनेशनलले मंगलबार विज्ञप्ति जारी गर्दै जुन्टाले समुदायमाथि आक्रमण गर्न प्याराग्लाइडरको प्रयोग गर्नु यस क्षेत्रमा देखिएको चिन्ताजनक प्रवृत्तिको हिस्सा भएको बताएको छ ।
बीबीसी बर्मिजका अनुसार, हालसालै विमान र हेलिकोप्टरको अभावका कारण जुन्टाले प्यारामोटरहरूको प्रयोग बढाउँदै लगेको छ । केही वर्षदेखि अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण जुन्टालाई सैन्य उपकरण खरिद गर्न कठिन भएको छ । एमनेस्टी इन्टरनेशनलका म्यान्मार अनुसन्धानकर्ता जो फ्रिम्यानले यो आक्रमणलाई म्यान्मारका नागरिकलाई तत्काल सुरक्षाको आवश्यकता छ भन्ने चेतावनीका रूपमा व्याख्या गरेको बिबिसी बर्मिजले जनाएको छ ।































प्रतिक्रिया