नालायक प्रतिनिधिसभा फेरि व्युँताउनु हुँदैन -एमाले नेता मिश्र

नालायक प्रतिनिधिसभा फेरि व्युँताउनु हुँदैन -एमाले नेता मिश्र

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य सोम मिश्रले विघटित प्रतिनिधि सभाको तीव्र आलोचना गर्दै यसलाई इतिहासकै सबैभन्दा नालायकको संज्ञा दिँदै आफू प्रतिनिधि सभा ब्युँताउने पक्षमा नरहेको बताएका छन्।

मिश्रले सामाजिक सञ्जालमा एक लामो टिप्पणी गर्दै तीन वर्षे कार्यकालमा प्रतिनिधि सभाले लाजको पसारो हुने गरी दुनियाँ हँसाउने काम मात्र गरेको आरोप लगाएका हुन् ।

विघटित प्रतिनिधिसभामाथि मिश्रको ११ बुँदे प्रहार-

निजामती कर्मचारी विधेयकमा ‘कुलिङ पिरियडको खिचडी’ खेलेर संसदीय अभ्यासको खिल्ली उडाएको उनकाे आरोप छ । साथै, विद्यालय शिक्षा विधेयक, नेपाल प्रहरी विधेयक, र सशस्त्र प्रहरी विधेयक जस्ता महत्त्वपूर्ण कानुनहरू पारित गर्न नसकेको यो असक्षम रहेको उनले भनेका छन् ।

संसद्ले कार्यपालिकामाथि नियन्त्रण र सन्तुलनको भूमिका निर्वाह गर्न नसकेको र ‘कार्यपालिकाको रबर छाप मात्र’ बनेको मिश्रको ठहर छ । ठूला–ठूला भ्रष्टाचारका काण्डमा अन्देखा गरेको, देशमा व्याप्त भ्रष्टाचार र कुशासनमा नियन्त्रणको सट्टा प्रोत्साहन दिएको र संसद् आफैं सेटिङमा व्यस्त रहेको गम्भीर आरोप लगाएका छन् ।

मिश्रले बजेट निर्माण जस्तो गम्भीर विषयमा लाजलाग्दो असन्तुलित बजेट बनाएको र यसमा बिचौलियाको प्रवेश/भूमिका लाई संसद्ले अनुमोदन गरेको भन्दै नैतिक प्रश्न समेत उठाएका छन् ।

कैयौं ‘माननीयज्यू’हरू भ्रष्टाचार, अनियमितता, घुसखोरी जस्ता काण्डमा कोही जेलमा, कोही अदालतको तारेखमा त कोही अख्तियारको बयानमा रहेको उल्लेख गर्दै नैतिकतामाथि समेत प्रश्न उठाएका छन् ।

बारबार सरकार र समीकरण बदल्ने बाहेक प्रतिनिधि सभाले राम्रो कामको एउटा पनि बीउ भेट्न नसकेको मिश्रको दाबी रहेको छ ।

प्रतिनिधिसभाले देश बचाउन नसकेको, संविधान जोगाउन नसकेको र नेपालीलाई राज्यविहीन अवस्था (व्यवस्थापिका/कार्यपालिका/न्यायपालिकाविहीन) मा पु¥याएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभा संविधानलाई कुल्चेर विघटन भएको २५ दिनसम्म सभामुख बाहेक कोही बोल्न नसकेको र सडकमा आउन नसक्नुले नै त्यसको लोकप्रियता शून्य रहेको प्रमाणित गरेको मिश्रको जिकिर रहेको छ ।

नेता मिश्रले आफ्नो लामो टिप्पणीको अन्त्यमा सोही असक्षम, नालायक र राष्ट्रलाई बर्बादीको अवस्थामा पु-याउन भूमिका खेल्ने प्रतिनिधि सभा व्यताउनु पर्छ भन्ने पक्षमा आफू नरहेको स्पष्ट पारेका छन् । विघटित संसद् देशको बर्बादीको लागि जिम्मेवार रहेको उनको निष्कर्ष छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिकाका पूर्वमेयर समेत रहेका मिश्रले यो असक्षम, नालायक र राष्ट्रलाई बर्बादीको अवस्थामा पुर्याउने भूमिका खेल्ने प्रतिनिधि सभालाई पुनः ब्युँताउनुपर्छ भन्ने पक्षमा आफू नरहेको स्पष्ट पारेका छन् ।

Skip This
Skip This
Logo