काठमाडौं
प्रतिनिधिसभाको समितिमा रहने सदस्यको नाम प्रमुख प्रतिपक्ष दल कांग्रेस र राष्ट्रिय जनता पार्टीले दिएका छैनन् । सभामुख कृष्णबहादुर महराले भने समितिमा सबै दलको नाम नआए पनि समिति गठन गर्ने तयारी गरेका छन् । प्रतिनिधिसभाले प्रतिनिधिसभा नियमावली जेठ २५ गते पारित गरे पनि प्रतिनिधिसभाका समिति गठन हुन सकेका छैनन् । जसका कारण संसदीय गतिविधि प्रभावित हुँदै आएको छ । कांग्रेसले संसदमा प्रतिनिधित्वको आधारमा प्रतिनिधिसभामा ३ जना सभापतिको माग गरेको छ ।
प्रतिनिधिसभामा १० वटा समिति रहने नियमावलीमा व्यवस्था छ । संसद सचिवालयले प्रतिनिधिसभाका दलले समितिमा पाउने सदस्य संख्याको विवरण तयार गरेर सभामुखलाई बुझाइसकेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्ष राष्ट्रिय जनता पार्टीले प्रतिनिधिसभाका समितिमा रहने सदस्यको नामावली नदिएपछि अझै एक दुई दिन पर्खिने तर नाम नआए सभामुखले नाम आएका सदस्यलाई समितिमा रहेको घोषणा गर्ने स्रोतले बतायो ।
नाम नआएका दलले पाउने सिट संख्या भने सुरक्षित राखिने छ । संसद सचिवालय स्रोतले भन्यो ‘नाम जहिले आउँछ त्यसपछि ती दलका सदस्यको नाम समितिमा रहेको घोषणा हुनेछ ।’ समितिमा दलले पाउने सदस्य संख्याको आधारमा सभामुखले सदस्यको नाम संसद्बाट घोषणा गर्ने तयारी गरेको स्रोतले बताएको छ ।
सभामुख कृष्णबहादुर महराले छिटो भन्दा छिटो नामावली दिन प्रमुख प्रतिपक्ष र प्रतिपक्ष सांसदलाई पटक पटक आग्रह गरेका छन् । समितिमा रहने सदस्यबारे कांग्रेसले सभामुख महरा र शीर्ष नेतासँग अनौपचारिक रूपमा छलफल गरिसकेको छ । कांग्रेसले प्रतिनिधिसभामा रहने ३ समितिको सभापति र राष्ट्रियसभाका १ समितिमा सभापति दाबी गरेको छ ।
नागरिकबाट





























प्रतिक्रिया